काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट स्वदेश फिर्ता भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए। नरेन्द्र मोदीको निमन्त्रणा मान्न भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता भएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यबाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलगायत मन्त्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका छन्।
शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
दुई सरकार प्रमुखबीच भएको भेटमा नेपाल-भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।