पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे।
पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे।
प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए। प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन्।
नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।