नयाँदिल्ली- नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन्। भारतकी राष्ट्रपति द्रौपद मुर्मुले आइतबार मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाइन्।
मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए। २०१९ मा मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका मोदीले अहिले २०२४ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए।
मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ। तर यस पटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन भने सकेन।
मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए। राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन्।
अमित शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।