डडेल्धुरा– अमरगढी नगरपालिकाको वडा नम्बर ७ स्थित सरोला गाउँकी मैनादेवी साहु उमेरले ६० पुगिसकिन्। बुढ्यौलीले छुँदै गए पनि उनको जोश, जाँगर र मिहेनत भने कुनै युवाकोभन्दा कम छैन।
विगत २२ वर्षदेखि मैदानदेवी कृषिकर्ममा तल्लीन छिन्। उनको यो कर्ममा सहयात्री बनेकी छिन् ३१ वर्षीया उनको बुहारी पदमा पाल। विषादीबिना उत्पादनले खर्च उठाउन सकिँदैन भन्ने मानसिकताबाट यी सासू–बुहारी धेरै टाढा छन्। दुई दशकदेखि मैनादेवीले प्राङ्गारिक तरकारी उत्पादन गर्दै आएकी हुन्।
तीन छोरा र तीन बुहारीको नेतृत्व गर्दै मैदादेवीले तरकारी खेतीबाटै घरखर्च मात्रै होइन बाहिरको अड्कोपड्को पनि धान्दै आएकी छिन्। उनको बुढेसकालको जोशले उनकी बुहारीहरुलाई पनि कृषिकर्मबाट पन्छिन दिएको छैन।
दुई रोपनी जग्गा आफ्नो र दुई रोपनी जग्गा माते (पछि फिर्ता हुने गरी जग्गा प्रयोग गरेमार्फत् पहिले नै दिइने धरौटी रकम) गरी चार रोपनी जग्गामा बेमौसमी तथा हिउँदे तरकारी खेती गर्न मैनादेवीले सुरु गरेकी थिइन्।
पाखो तथा सिँचाई नहुने जमिनमा आकाशको वर्षाको भरमा खेती गरिन्छ भने, अलि अलि सिँचाईको सुविधा भएको जग्गामा प्लास्टीकको टनेलभित्र बेमौसमी तरकारीहरु फलाउने गरिकी छन् सासू–बुहारीले।
-1717916617.jpg)
फोक्सोको क्यान्सरका कारण श्रीमान् गुमाएकी मैनादेवीले श्रीमानको उपचारमा लागेको खर्च तिर्न सहायक बनेको छ अहिले तरकारी खेती।
उनले वार्षिक तीन लाख रुपैयाँसम्म तरकारी खेतीबाटै आम्दानी गर्ने गर्छिन्। यति मात्र होइन उनले विदेशमा रहेका छोराहरुले पठाएको रकम र तरकारीबाट भएको आम्दानीले जिल्ला सदरमुकामभन्दा सात किलोमिटरमा पर्ने स्थानीय पोखराबजारमा तीन तले घरसमेत निर्माण गरेकी छिन्।
‘पहिला लागेको ऋण तरकारीको बिक्रीबाटै तिरिरहेका छौं। तर त्यही बीचमा घर पनि लगायौं,’ तरकारी बारीबाटै देखाउँदैन मैनाले भनीन्, ‘त्यही घरमा अहिले बुहारीले तरकारीका पसल पनि थापेकी छन्। तरकारी खेतबाटै बिक्री गर्दा भनेअनुसारको मूल्य पाइँदैन। त्यसैले पसलबाटै बिक्री गर्ने गरेका छौं।’
पसलमा बिक्री भएन भने पनि उनले सदरमुकामका व्यापारीलाई बेच्ने गरेकी छिन्। उनी बुहारी पदमा प्रगतिशील महिला कृषि समूहकी कोषाध्यक्षसमेत हुन्। उनी बिहान–बेलुका खेतमा तरकारी गोडमेलमा व्यस्त हुन्छिन् भने दिउँसो पसलमा हेर्छिन्।
-1717916616.jpg)
प्राङ्गारिक तरकारी उत्पादनका लागि अहिले उनले घरमै गड्यौँले मलसमेत बनाउन थालेकी छन्। कृषि उत्पादन बढाउन कुनै निकायबाट अनुदान नपाएकी उनलाई अहिले एक गैर सरकारी संस्थाको १० हजार सहयोगले गड्यौँले मल एकाई (भेर्मिकम्पोष्ट युनिटी) ६ फिट लामो, २ फिट चौडाइ र २ फिट उचाइको निर्माण गरेको छ।
रकम सानो भए पनि आफूलाई पुग्ने मल उत्पादनका लागि राम्रो बनाएको उनको भनाइ छ। उनले भनिन्, ‘गड्यौँले मल बनाउन हामीले सानो खाल्डो त्यतिकै बनाउने गरेका थियौं, खासै काम लागेन। अहिले सिमेन्टकै बनाएपछि राम्रो मल उत्पादन भएको छ, बजारबाट मल किन्ने सयम र पैसा जोगिएको छ।’
पदमाका श्रीमान विदेशमा काम गर्छन्, अहिले केही समयका लागि घर आएका छन्। घरमा हुँदा पदमालाई श्रीमानले पनि सहयोग गर्ने गरेका छन्। अब भने फेरि विदेश नपठाउने सोचमा छिन् पदमा।
-1717916615.jpg)
‘हामी सासू–बुहारीको मिहेनतले सानो क्षेत्रमा त राम्रै उत्पादन भएको छ। अब उहाँलाई पनि यसैमा लगाउने सोचेकी छु। बरु जग्गा थप गरेर भए पनि यहिँ केही गर्ने सोचमा छौं,’ उनले भनिन्।
गाउँका अधिकांश पुरुष घरमा नभएपछि महिला नै कृषिमा एक्लै संघर्षरत छन्। ‘तल्लो मल्लो वल्लो पल्लो घरका पुरुषहरु घरमा अधिकांश छैनन्। श्रीमानलाई पनि घरमै बसेर तरकारी खेती गर्ने लगाउन समस्या भएको सुनाइन्। कृषिमा अहिले प्राय महिला मात्रै संलग्न छन्,’ पदमाले भनिन्।
मैनादेवी र पदमाको कृषि कर्ममा सहयोगी बनेका छन् गड्यौँला। अहिले विषादी, युरिया तथा रसायनिक मलको प्रयोग गर्दासमेत भनेअनुसारको उत्पादन लिन नसकिरहेका बेला यी दुई सासू–बुहारीले भने प्राङ्गारिक मलको प्रयोगबाटै मनग्य आम्दानी गर्न सफल भएका छन्।
-1717916615.jpg)
खेतको किनारमा गोठे मल राखेर वर्षौंसम्म पखिर्नुपर्ने समस्या जीआईजेड नेपालले हटाएपछि कृषक सासू–बुहारी खुसी छिन्। उनले गड्यौँला मल उत्पादन गर्न थालेपछि रसायनिक मलको खोजीमा दौडिनुपरेको छैन। मल बढेपछि व्यावसायिक रुपमा गड्यौँलाको उत्पादन गर्ने योजना समेत उनीहरुको छ। अहिले पनि आवश्यकताभन्दा बढी गड्यौँला उत्पादन भइरहेका छन्।
माटोको उर्वराशक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गड्यौँला मल निकै उपयोगी हुन थालेको कृषि प्राविधिक रोशनी खड्काको भनाइ छ। किसानले गड्यौँला मललाई जैविक मलको रुपमा प्रयोग बढाएको उनी बताउँछिन्।
-1717916615.jpg)
मैनादेवी मात्र होइनन् अहिले डडेल्धुराको अमरगढी नगरपालिका र आलितालका अधिकांश कृषकलाई गड्यौँले मल उत्पादन गर्न प्रोत्साहन गरिरहेको स्थानीय तहले बताएका छन्।
केही वर्षपछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायी नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौँला मल निकै उपयोगी रहेको कृषि प्राविधिकहरुको दाबी छ।
गाई भैँसीको मलमुत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौँला मल तयार पारिन्छ। चौपायाको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौँला राखिन्छ र गड्यौँलाले त्यसलाई आफ्नो आहाराको रुपमा खाने र त्यहि दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने अमरगढी कृषि शाखा प्रमुख रमेश भण्डारीले बताए।
-1717916614.jpg)
माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौँला मल माटोको लागि निकै लाभदायी भएको कृषि प्राविधिकको भनाइ छ। गड्यौँले मल बनाउँदा गाईको पिसाव प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको अगुवा कृषकको बुझाइ छ।
व्यावसायिक पशुपालन समेत गरेका चन्द्रा कठायतले पशुबाट उत्पादन भएको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौँलालाई राखेर मल उत्पादन गरिरहेको बताइन्।
यहाँका कृषकले बालीमा सत्रुजिव रोग किरा लागेमा जौविक विषादीको प्रयोग गर्ने गरेका छन्। जौविक विषादी बनाउनका लागि उनीहरुले असुरो, निम, बकाइनो जस्ता स्थानीय स्तरमा सजिलै पाइने जैविक उपजहरु प्रयोग गर्ने गरेका छन्।
-1717916614.jpg)
हिउँदमा विषादीयुक्त सिमी, पिडालु, तरुल, टमाटर, मुला, भाण्टा, करेला, रायो, खुर्सानी खेती अमरगढीका किसानले गर्दै आएका छन्। जलवायु उत्थानशील कृषि गाउँ बनाउनका लागि पहल गरिएको यहाँका गाउँमा जैविक बिषादी प्रयोगका लागि कृषक पाठशालामार्फत् विधि सिकाउन थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।