काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्व सहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनुपर्ने बताए। उनले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह/अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।
‘यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ। पार्टी भित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन। अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ,’ उनले भने।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औँल्याए। उनले हाल पार्टी भित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।