धनगढी– सुदूरपश्चिम प्रदेश सभा नियमावली तेस्रो पटक संशोधन गरिएको छ। नियमावली संशोधन मस्यौदा समितिका सभापति विक्रमसिंह धामीले आज बसेको प्रदेश सभाको चौथो अधिवेशनको छैठौं बैठकमा संशोधन नियमावली पेश गरेका हुन्।
नियमावली संशोधनको मस्यौदामाथि दफाबार छलफल गरियोस भनी सभापति धामीले प्रस्ताव पेश गरे। छलफलमा भाग लिदै नेपाली काँग्रेसका प्रदेश सभा सदस्य मानबहादुर रावलले नियमावली संशोधन गरेरमात्र नहुने बताउँदै ‘संशोधन उपलब्धीमुलक होइन्। व्यवस्था गरिएका नियमहरुको पालना सभा र सचिवालयले गर्न जरुरी रहेको छ।’
उनले संसदको इज्जत, मर्यादा र मान राखेर सबै अघि बढ्न जरुरी रहेको बताए। उनले प्रदेश सभा सदस्यहरुको पनि पोशाक अनिवार्य तोक्न जरुरी रहेको बताए। दफाबार छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कलबहादुर रावल र नेकपा एमालेका राजेन्द्र सिंह रावलले भाग लिदै नियमावली संशोधनले सभाका केही जटिलता हटाउँदै काम गर्न सहज पुर्याउने विश्वास व्यक्त गरे।
संशोधन समितिका सभापति धामीले नियमावलीले सभामा पेश हुने कानुनको मस्यौदामाथि स्पष्ट छलफल गर्न पाउने, सभामा उठेका जवाफ सरकारले दिनुपर्ने, पूर्व प्रदेश सभा सदस्यहरुको मञ्च गठन गर्ने लगायतका विषयहरु समेटिएको बताए।
संशोधित नियमावलीलाई पुर्नविचारका लागि विषयगत समितिमा थप छलफलका लागि पठाउन नेकपा एमालेका संसदीय दलका नेता रावलले माग गरेपनि सभामुख भीमबहादुर भण्डारीले पारिताका लागि निणर्याथ पेश गरे।
नेता रावलले भने –‘यो नियमावलीका केही बुँदामा अस्पष्टता रहेको छ। कुनै दलको स्वार्थ केन्द्रित केही बुँदा समेटिएका छन्। त्यसमा व्यापक छलफल हुनुपर्छ। त्यसलै पुर्नविचारका लागि सम्बन्धित समितिमा पठाइयोस।’
सभामुख भण्डारीले ‘हुन्न भन्ने आवाज नसुनिएको’ भन्दै नियमावली सर्वसम्मत पारित भएको सभामा जानकारी दिए। छलफलमा भाग लिन नपाएका सत्तारुढ दलका प्रदेश सभा सदस्य नरेश बहादुर शाहीले नियमावली संशोधन मस्यौदाका बुँदाहरु पढ्न पाउनुपर्ने माग गरे।
उनले भने –‘हामीले मस्यौदाका बुँदाहरु पढ्न पाएका छैनौं। कुनै टिप्पणी गर्दा एक चोटी पढ्न पाउँनुपर्छ।’ तर, उनको माग सभामुख भण्डारीले सुनेर पनि छलफललाई अघि बढाए। सभामा स्थानीय तहको गठन, सेवा र सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सामान्य छलफल अघि बढाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाले प्रस्ताव पेश गरिन्।
सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।