धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। बिहीबारको प्रदेश सभा बैठकले सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकमा आगामी आव २०८१/८२ को वार्षिक नीति कार्यक्रम माथि छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको हो। छलफलपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई बैठकमा निर्णयार्थ पेस गरेका थिए।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राप्त सुझावलाई सकेसम्म आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने बताए। उनले बजेट निर्माणका क्रममा विचौलियाको चलखेल भइरहेको भन्ने कुरा गलत भएको र उनीहरुको प्रभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
यसअघि बैठकमा नीति कार्यक्रम माथि भएको छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसका मेघराज खड्का, जुनाकुमारी दानी र राप्रपाका खेमादेवी विष्टले सरकारले ल्याएको नीति कार्यक्रम विगतकै नक्कल भएको र नयाँ कुरा केही नभेटिएको बताए।
नीति कार्यक्रम र बजेट निर्माण गर्ने बेलासम्म प्रदेश सरकारले पूर्णता नपाउँदा विकासका काम र मन्त्रालयका गतिविधि प्रभावित बनेको विषय छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले उठाएका थिए।
छलफलमा सत्तापक्ष नेकपा (एमाले)का धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्ल र सन्तोषीकुमारी थापा शर्मा, नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी, गीतादेवी माल, शिवसिंह ओली, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले नीति कार्यक्रममा समेट्नुपर्ने कतिपय विषय छुटे पनि समग्रमा नीति कार्यक्रम प्रदेशको समृद्धि र विकासका लागि उत्साहजनक रहेको बताए। उनीहरुले नीति कार्यक्रम अनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजन हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।