काठमाडौँ- मधेसका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार पदमुक्त भए। प्रदेश सभामा मागेको विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री यादव पदमुक्त भएका हुन्।
यसअघि चार पटकसम्म विश्वासको मत पाएका यादव पाँचौं पटक भने सुरक्षित रहन सकेनन्। विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत मात्र पर्यो भने विपक्षमा ५३ मत पर्यो। सरकार जोगाउन मुख्यमन्त्री यादवलाई ५४ मतको आवश्यकता थियो।
बुधबार विश्वासको मत दिने क्रममा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवलाई उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ। विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन्।
१०७ सदस्य मधेस प्रदेश सभामा एमालेको सभामुख सहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ। त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ।
बुधबारको मतदानमा १-१ सिटको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसद अनुपस्थित थिए।
गठबन्धन फेरबदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चार पटक विश्वासको मत पाएका थिए। तर, पाँचौ पटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउन पुगे।
योसँगै मधेसमा साढे ६ वर्षपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।