सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा विशेषगरी सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखिएको छ। धेरैजसो पुराना र केही नयाँ कार्यक्रम समेटिएको नीति तथा कार्यक्रममा एक धारा एक घर अभियानलाई निरन्तरता दिइएको छ भने सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि पहल गरिने उल्लेख छ।
कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मुख्य केन्द्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। स्वास्थ्यमा सुधार ल्याई ‘कर्णाली स्वस्थ नागरिक’अभियान चलाइने कार्यक्रम ल्याइएको छ भने सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्न प्रोत्साहन अभियान चलाइने योजना पनि छ।
प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने बताइएको छ। सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ। साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने उल्लेख छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।