काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार माग गरेका छन्।
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार थापाले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार के हो भन्दै प्रश्न गरेका हुन्।
संसदमा धेरै उथलपुथल भएको भन्दै थापाले ६/८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने टिप्पणी गरेका थिए।
‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो। तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि!,’ थापाले भने।
उनले अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गर्दै ६ प्रतिशतको आर्थिक वृद्धिको आधार के हो पनि भनेका थिए।
‘अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने कुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो। ४ प्रतिशतको भन्दा कम रह्यो,’ थापाले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।