काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना नेता पार्टीको महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेका छन्।
केन्द्रीय सदस्यद्वय जनार्दनप्रसाद यादव र भीमबहादुर रायले सर्वोच्चमा रिट दायर गरेकोमा त्यसलाई दरपिठ गरिएको थियो। दरपिठपछि सो निवेदन सिधै बेञ्चमा गएपछि बेञ्चले कैफियत झिकाउन आदेश गरेको छ। रिट दायर हुने–नहुने आदेश हुन बाँकी छ।
जसपा नेपालले जेठ २८ गतेदेखि जनकपुरमा एकताको महाधिवशेन गर्दैछ। त्यो अधिवेशनलाई रोक्न माग गर्दै जसपाका दुई नेताले दुवै ठाउँमा निवेदन दिएका छन्।
अशोक राईसहित सात जना सांसद जसपा नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएपछि त्यसको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले रिट दायर गरेका थिए। सो रिटमाथि बहस हुँदा सर्वोच्च अदालतले जसपालाई यथास्थितिमा राख्न आदेश दिएको छ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेको बेला महाधिवेशन गराउन अवैधानिक हुने भन्दै उनीहरू रिट लिएर अदालत पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।