काठमाडौँ- भारतको लोकसभा निर्वाचनको मत गणना जारी छ। मंगलबार बिहानदेखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता कायम गरेको छ।
प्रारम्भिक मत गणना अनुसार एनडीए गठबन्धनले सरकार बनाउन पुग्ने बहुमत ल्याउने देखिएको छ। तर भाजपा एक्लैको भने बहुमत नपुग्ने मतपरिणामले देखाएको छ।
भारतीय लोक सभामा ५४३ सिट छ। जसमध्ये स्पष्ट बहुमत पुर्याउनका लागि २७२ सिट चाहिन्छ। प्रारम्भिक मत गणना अनुसार एनडीएले ५४३ लोकसभा सिटमध्ये २९३ सिटमा अग्रता बनाएको छ। परिणाम अहिलेकै लयमा गयो भने एनडीएलाई सरकार बनाउनका लागि पर्याप्त सिट पुग्छ। तर भाजपा एक्लैको भने २४० आसपासमै खुम्चिने प्रारम्भिक परिणामले देखाएको छ।
अहिलेसम्मको गणना अनुसार कांग्रेस आई नेतृत्वको इण्डिया गठबन्धन २३३ सिटमा अगाडि देखिएको छ। कांग्रेस आई एक्लैले १०० आसपास सिट ल्याउने देखिएको छ।
अहिलेसम्मको नतिजा अनुसार भाजपालाई उत्तर प्रदेशमा ठूलो घाटा लागेको छ। ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा मात्र अगाडि छ जबकि सन् २०१९ को चुनावमा भाजपाले यो प्रदेशबाट एक्लै ७४ सिट प्राप्त गरेको थियो।
उत्तर प्रदेशमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले छलाङ मारेको छ। समाजवादीले ३६ सिटमा अग्रता कायम गरेको छ।
यस्तै पश्चिम बंगाल, महाराष्ट्र, बिहार जस्ता भाजपाका गढ मानिएका प्रदेशमा पनि उसले ठूलो क्षति ब्यहोर्ने संकेत देखिएको छ।
मध्य प्रदेश, उडिसा, दिल्ली, गुजरात लगायतमा भने भाजपाले अहिले आफ्नो वर्चश्व कायम नै राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।