काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन्। प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’
सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए।
गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि कढाउनु आफैंमा नमिल्ने बताए।
प्रतिनिधि सभाको सोमबारको बैठक बिहान ११ बजेदेखि जारी छ। सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै शून्य समयमा सांसदहरूलाई बोल्न समय दिए।
सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र, समसामयिक घटनाक्रमलगायत विषयमाथि केन्द्रित रहेर धारणा राखे, सरकारको ध्यानाकर्षण गराए।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले पारित गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक सदनमा पेस गरेका थिए।
यसपछि सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सुरू भयो। सांसदहरूले बजेटमाथि धारणा राखेका छन्। अधिकांश सांसदहरू आफ्ना कुरा राख्दै हिँड्दै गरेपछि संसद भवनमा कुर्सी खाली खाली छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।