काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको छ। सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तारमा ढिलाइ हुँदै आएको छ।
त्यसैगरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्। तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन। यद्यपि मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ।
एकीकृत समाजवादीले आज दिउँसो बस्ने सचिवालय बैठक बोलाएको छ। त्यसअघि समाजवादीका अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।