काठमाडौँ- प्रमुख सत्तारुढ घटक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रसंसा गरेका छन्। अर्थमन्त्री पुनले आफू मुलुकका लागि अप्ठेराहरुका बीचमा काम गर्न सक्छु भन्ने आँट र अठोट गरेर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको पौडेलले बताए।
आइतबारबाट सुरु भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा बोल्दै पौडेलले मन्त्री पुनले आफूले आफैंमाथि चुनौती खडा गरेको र उक्त चुनौती पार गर्ने अठोट व्यक्त गरेको बताए। अर्थमन्त्रीले सहज बाटो नरोजेर चुनौतीपूर्ण बाटो रोजेको उनको भनाइ थियो।
राजश्व संकलन, आन्तरिक तथा वैदेशिक ऋण र सहायता एवं पुँजीगत खर्चका सम्बन्धमा मन्त्री पुनले बजेटमार्फत निर्धारण गरेका लक्ष्य असम्भव भने नरहेको पौडेलले बताए। ‘मन्त्रीज्यूले सहज यात्रालाई रोज्नुभएको छैन। आफैंमाथि चुनौती सिर्जना गर्ने र चुनौती पूरा गर्ने सामना गर्ने अठोट उहाँले गर्नुभएको छ। बजेट र्निाणको यो दृष्टिकोणलाई म राम्रो मान्दछु’, पौडेलले भने, ‘म सहज ढंगले काम गर्दिनँ। म मुलुकका लागि, राष्ट्रका लागि अप्ठ्याराहरुका बीचमा काम गर्छु र अघि बढ्छु भन्ने चुनौती उहाँले उठाउनुभएको छ। सहज यात्रा त जो कसैले पनि गर्न सक्छ। चुनौतीपूर्ण यात्रा तय गर्ने र त्यसलाई गर्ने कुरा बढ्ता महत्वपूर्ण हुन्छ।’
अर्थमन्त्रीले सम्भव तर मिहिनेतका साथ मात्र सम्भव हुने लक्ष्यहरु निर्धारण गरेको भन्दै पौडेलले मन्त्री पुनको प्रशंसा गरे।
बजेटमा १२ खर्ब ६० अर्बको राजश्व संकलन, ५२ अर्बको वैदेशिक सहायता, २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण परिचालन तथा ३ खर्ब ६७ अर्ब २८ करोड पुँजीगत खर्च गर्ने तथा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको चर्चा गर्दै पौडेलले आफ्नो अठोट पुरा गर्न अर्थमन्त्रीलाई शुभाकमना दिए।
‘बजेटमा उहाँले निर्धारण गरेका लक्ष्य पूरा गर्न सजिलो छैन। तर साँच्चै मिहिनेतका साथ लाग्ने र राज्यका सबै संरचनालाई सही ढंगले परिचालन गर्ने हो भने यो लक्ष्य पूरा गर्न असम्भव पनि छैन’, उनले भने, ‘सम्भव मध्येको उच्चतम लक्ष्य मन्त्रीज्यूले लिनुभएको छ। यो ठीकै हो भन्ने मलाई लाग्छ। त्यस कारण म यसलाई राम्रो मान्छु।’
कतिपयले बजेटलाई महत्वाकांक्षीको संज्ञा दिए पनि आफूले भने उच्च आकांक्षी पदावली प्रयोग गर्न चाहेको उल्लेख गरे। राजश्वले साधारण खर्च पनि नधान्ने र ऋण तिर्नका लागि ऋण नै लिनुपर्ने अवस्थामा मन्त्री पुनले मुलुकको सामर्थ्यलाई उच्चतम प्रयोग गरेर चुनौती मोल्ने आँट गरेको पौडेलको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।