काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन सुझाव दिएका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानबिनको दायराबाट बाहिर नरहेको बताए।
थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ। एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो। गोरखा मिडियाको मालिका जीबी हुन् कि छबि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ। समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं।’
महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए। उनले गृहमन्त्रीले आफ्नो पदको गरिमालाई बेवास्ता गर्दै बरालिएकोसमेत टिप्पणी गरेका छन्। उनले देश अप्ठ्यारोमा परेका बेला नक्कली कागज बनाएर विदेशीने र पछि आएर सराप्ने एक पात्रको उदाहरण दिँदै गृहमन्त्रीप्रति बरालिएको टिप्पणी गरेका हुन्।
गृहमन्त्री प्रति लक्षित गर्दै उनले भने, ‘संसदको दृश्य सम्झिसकेपछि एउटा पात्रको याद आयो। बागलुङमा एक जना साथी हुनुहुन्छ। त्यतिबेला देश छाडेर गए। शरणार्थी भए। केही छट्टुहरुले अप्ठ्यारो नपरेको बेलामा अप्ठ्यारोमा परेको छु भन्दै नक्कली कागजात बनाएर बाहिर गए। केही समयपछि नेपाल त ठीकठाक बनायौं। हामीले अनेक संघर्ष गरेर देश ठीकठाक पार्यौं। अनि उनी फर्किए, नयाँ अवतारमा आए। अहिले खानपिने गरेको बेला राति छतमा गएर चिच्चयाउँने कराउने गर्दा रहेछन्। अरुलाई गाली गर्ने अपशब्ध बोल्ने रहेछन्। त्यसो किन हो त भन्दा हिजो आफूले गरेका नक्कली कामबारे आफैं भन्न भएन।’
यस्तै गृहमन्त्रीले पहिलाका सत्ताले प्रयोग गरेर काम नलाग्ने भुत्ते भइसकेका कुराहरु निकाले सदनको गरिमा राख्न नसकेको महामन्त्री थापाको भनाइ थियो। उनले यसको हिसाब गृहमन्त्री मात्र नभइ प्रधानमन्त्रीसँगै लिने चेतावनीसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।