काठमाडौँ- मधेस प्रदेशमा एकीकृत समाजवादीले जनता समाजवादी नेपाललाई नसघाउने भएको छ। शनिबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनबीचको भेटमा अध्यक्ष नेपालले यसबारे जानकारी गराएका हुन्।
भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने बताएका थिए।
भेटघाटका क्रममा उनले आफ्नो पार्टी भित्र पनि समस्या भएको बताएका थिए। अध्यक्ष नेपालले छलफलका क्रममा भनेका थिए, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीमा अन्य नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गाह्रो हुने भयो।’
मधेसमा जसपा नेपालका मुख्यमन्त्री सरोज यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन्। एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।