भक्तपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन्।
सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औं स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। ‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भने, ‘कहाँ कसरी चलाउने रु कति छेउसम्म जाने रु कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने रु भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ।’
ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताइन्। उनले भने, ‘कानून विपरीत कसैले काम गरेको छ भने त्यसलाई कानूनबमोजिम कारबाही गर्न आवश्यक छ। तर नागरिकलाई पीडा दिनका निम्ति हाम्रा कार्यहरू हुनु हुँदैन।’
समाजमा अझै पनि प्रहरी भनेपछि डराउने प्रवृत्ति रहेको भन्दै उहाँले प्रहरीलाई नागरिकको सेवा गर्ने राष्ट्र सेवकको रूपमा बुझ्न आवश्यक रहेको बताइन्। सामुदायिक प्रहरी सेवा केन्द्रहरूले यो कुरामा सहजीकरण गर्दै आएको भन्दै उहाँले समुदाय र प्रहरी मिलेर समुदायको काम अगाडि बढाउने कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने समेत बताइन्।
‘समाजमा सेवा गर्न चाहने व्यक्तिहरूको कमी छैन। हामी बाँचुन्जेल समाजलाई केही सेवा भाव दिएर जान सकेमा धेरै ठुलो समाज कल्याण, मानव कल्याण हुनेछ’, मन्त्री चौधरीले भनिन्। ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्नो बुवा आमाका निम्ति आफ्नो कमाइको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको भन्दै उहाँले अब छिट्टै नियमावली आउने बताइन्।
ज्येष्ठ नागरिक नियमावली, संशोधन गर्न हिजो शुक्रबार बसेको विधेयक समितिले पारित गरेको बताउँदै उनले अब संसद्बाट ज्येष्ठ नागरिक नियमावली प्रथम संशोधन २०८१ जारी हुने बताए। आफ्नो आमा बुवाको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व हो भन्दै उनले आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्ने गरेको, आफ्नै छोराछोरीबाट विभेदमा पर्ने गरेको घटना धेरै भएपछि सरकारले ऐन नै पास गरेर कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था गर्न लागेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।