काठमाडौँ- सरकारले तीन जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ।
त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ। यसैगरी महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरेको छ।
मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्यायपरिषद सचिव र सर्वोच्च अदालतको रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ । यस्तै वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको छ ।
यस्तै तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।