काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन्। जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक रहेको उल्लेख गरे।
‘संस्कृतिको जग समाज हो, तसर्थ समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ।’
जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए। उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए।
‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको संवर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ।’
उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरुद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।