काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुनेबित्तिकै संसद अवरोध गरेको छ। कांग्रेसका सांसदहरुले संसद्मा नाराबाजी गरिरहेका छन्।
बिहान बसेको कांगष्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने र त्यसपछि संसदका अन्य कामकारबाही अवरोध गर्ने निर्णय गरेको थियो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ।
प्रधानमन्त्रीसँगको छलफलपछि भने नीति तथा कार्यक्रम प्रस्तुत मात्र हुन दिने र त्यसपछि संसद अवरुद्ध गर्ने बताएको थियो।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरुले उभिएर नाराबाजी गर्दै सदन अवरोध गरेका हुन्।
यस्तै राष्ट्रिय सभा बैठक पनि कांग्रेसले अवरोध गरेको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभामा मात्रै अवरोध गर्दै आएकोमा मंगलबारदेखि राष्ट्रिय सभा पनि अवरोध गरेको हो।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।