काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुनेको जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन्। गृह मन्त्रालयमा मंगलबार काठमाडौँ- १ का सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार लगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्री समक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका छन्।
सो छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ता भित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाएका छन्। छलफलमा उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासन समेत दिए।
पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुन सकेको छैन।
छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो। तीनकुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन्। केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्याङ्कन समेत भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।