काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममाथि छलफल नहुने अडान राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरलगत्तै नेपाली कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो।
नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनै पनि सरकारी प्रस्तावमाथि संसद्मा छलफल नहुने अडान दोहोर्याए।
उनले भने, ‘कुनै पनि सरकारी प्रस्तावमा हामी प्रवेश गर्दैनौँ। सरकारी कार्यसूचीमा, सरकार सम्बन्धी विधेयकमा हामी प्रवेश गर्दैनौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई सम्बोधन गर्न दिनूस्, छानबिन समिति बनाउने कोसिस गर्छु भनेर प्रतिबद्धता जनाएको आधारमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौँ।’
लेखकले सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितहरुलाई सम्बोधन गर्न नसकेको समेत प्रतिक्रिया दिए।
उनले भने, ‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन। सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन।’
नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।