काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए।
कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रशतुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए।
उनले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताए। छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए।
छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताए।
उनले सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाएको प्रतिवद्धता कांग्रेसले व्यवहारमा देख्न चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।