काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय सम्बद्ध निकायहरुलाई तालिका बनाएर काम गर्न निर्देशन दिएकी छिन्। सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूँजीगत खर्चको क्षमता बढाउँदै तालिका बनाएर कामलाई तिव्रता दिनुपर्ने बताइन्।
उनले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजस्व वृद्धि गरेको दाबी गरिन्। ‘अहिले सबैतिर आर्थिक सङ्कुचन हुँदाहुँदै पनि हाम्रो मन्त्रालयमा गत आर्थिक वर्षको तुलनामा राजस्व वृद्धि भएको छ। यो हामीले सुशासनका पक्षमा लिएको दृढ अडानको परिणाम हो,’ मन्त्री शर्माले भनिन्, ‘हामी काम गर्ने संस्कृतिमा पछाडि छौँ। हामीसँग ५० दिनमात्र बाँकी छ। आत्मस्वीकारोक्ति गर्ने कुरा हो। भोलिबाट तालिका बनाएरै काम अघि बढाऔँ।’
चालु आर्थिक वर्षको अझै दुई महिना बाँकी रहे पनि गत आर्थिक वर्षको कूल राजस्वको हाराहारीमा अहिले दश महिनाकै अवधिमा राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ।
व्यक्तिगत जीवनमा खर्चभन्दा बढी आम्दानी राम्रो हुने भए पनि सरकारले भने पूँजीगत खर्च नबढाएर समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती कायमै रहेकाले अब आर्थिक वर्षको बाँकी समयमा दिन रात काम गरेर भए पनि लक्ष्य पूरा गर्न निर्देशन दिइन्।
विश्व बैङ्कको सहयोगमा प्राप्त गर्ने भनिएको डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) परियोजनाको रकमले पूँजीगत बजेटको ३८ प्रतिशत ओगटेको र सो रकम प्राप्त हुने वातावरण नबन्दा मन्त्रालयले गर्ने पूँजीगत खर्चको प्रतिशत घटेको जानकारी दिँदै मन्त्री शर्माले बाँकी बजेट खर्च गर्न मातहतका निकायलाई दृढतापूर्वक लाग्न निर्देशन दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।