मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ता भित्र सरकार विस्तार गर्ने बताएका छन्। प्रदेश सभामा सोमबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले हाललाई नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र सहितको सरकार विस्तार गर्ने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सनाखत हुन केही दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भएकाले आगामी दिनमा छलफल गरी सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।
अहिले प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने उनले जानकारी दिए।
विश्वासको मत लिने बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुनु संसदीय अभ्यासको क्रममा चुकेको उनको भनाइ थियो। कांग्रेसले कार्य व्यवस्था समितिको बैठकमा आजको बैठक सार्ने विषयमा कुनै जानकारी नदिएको उनले प्रष्ट पारे।
मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले संविधान, संसदीय अभ्यास, ऐन, नियम कानुनको पालना गरी सरकार निर्माण गरेको छ। सरकार अल्पमतको होइन बहुमतको हुन्छ।’
उनले कुनै पनि सरकारले सदनको विश्वास गुमाएपछि विश्वासको मत लिनु पर्ने अन्यथा राजीनामा दिई अर्को सरकार निर्माणलाई स्वीकार्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।