काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट निर्माणका लागि १९० वटा सुझाव दिएको जानकारी दिए।
उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको बताए। राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको उल्लेख गर्दै उनले पर्यटनसँग सम्बन्धित १९ वटा,कृषि,पशु,वनसँग सम्बन्धित २५,उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको बताए।
गभर्नर अधिकारीले भने, ‘प्रदेशका समस्याहरु समाधान गर्ने गरी सरकारलाई सुझाव दिने गरेका छौं। आगामी आर्थिक वर्षको बजेटको लागि सुझावहरु गइसकेको छ। राष्ट्र बैंकका सुझावमा पर्यटनसँग सम्बन्धित १९ वटा,कृषि,पशु,वनसँग सम्बन्धित २५,उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थमन्त्रालयलाई दिएका छौं।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन,२०५८,बैंक तथा वित्तीय संस्था ऐन,२०७३,बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ लगायत अन्य वित्तीय क्षेत्रसँग सम्बन्धित ऐनहरु संशोधन गरी समयअनकुल गरी सुधार गर्न सुझाव दिएको बताए। उनले अर्थतन्त्रको सन्तुलन र दिगो विकासमा वित्तिय क्षेत्रको भूमिका सुदृढ तुल्याउन तीनै तहका सरकारसँग समन्वय गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।