काठमाडौं– कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन्।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताएका हुन्। उनले कांग्रेसले आजको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताए।
उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए। उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए।
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाईको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।