काठमाडौं– राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले १५ दिन भित्र आफ्ना मागहरु पूरा नभए काठमाडौं लगायत देशव्यापी रुपमा सामुहिक सत्याग्रह सहितको आन्दोलन गर्ने चेतावनी दिएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले आफूहरुका माग वैशाख २३ गतेसम्म पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समिति नेपालका संयोजक चन्द्रबहादुर थापाले राज्य प्रशासनबाटै विभिन्न नाममा पेशा–व्यवसायी तथा मजदुरहरुमाथि शोषण, अन्याय र अत्याचार भइरहेको बताए।
उनले राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृति र जनताको जीवन रक्षाका निमित्त ‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारासहित आन्दोलनको घोषणा गर्नुपरेको बताए। उनले सम्पूर्ण नागरिकहरू गर वा मर को स्थितिमा रहेको भन्दै आफूहरुका मागहरू २०८१ वैशाख २३ गतेसम्म (१५ दिन भित्र) पूरा नभए काठमाडौं लगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको आन्दोलन गर्ने बताए।
राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रुपमा घोषणा गरी तिनको रक्षा प्रवर्द्धन र विकासका लागि राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्न माग गरे।
उनले बैंकिङ कर्जा व्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने र कालोसूची वा लिलामी प्रक्रियामा गएकोलाई तत्कालै बन्द गरी न्युनतम २ वर्षको अवधि थप गर्नुपर्ने, जग्गा जमिन लिलामी गरेको भए पुनर्मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने माग अघि सारेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।