ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भएपछि बार्सिलोना पछिल्लो दुई साता तनावमा रह्यो। चार सिजन बार्सिलोनामा बिताउँदा नेइमारले प्रभावशाली प्रदर्शन गर्नुका साथै टोलीका स्टार फरवार्ड लियोनल मेसीलाई गतिलो साथ दिएका थिए। मेसी र नेइमारसँगै अर्का फरवार्ड लुइस सुआरेजको राम्रो तालमेल मिल्दा बार्सिलोनाको अग्रपंक्ति बलियो थियो।
नेइमार बार्सिलोनाबाट पेरिसतर्फ लागेपछि त्यसको असर सिजनको सुरुवाती खेलमै बार्सिलोनालाई पर्यो। चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध स्पेनिस सुपर कपका दुवै लेगमा पराजित भएको बार्सिलोनाले ला लिगाको सुरुवात पनि दमदार गर्न सकेन। बार्सिलोनाका अर्का फरवार्ड लुइस सुआरेज घाइते भएर मैदान उत्रन नसक्दा मेसी अग्रपंक्तिमा एक्ला र शक्तिविहिन देखिएका थिए। अनुभवी डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनाबाट खेल्दा पहिलोपटक कमजोर महसुस भएको भनाई सावर्जनिक गरेका थिए।
पछिल्ला घटनाले बार्सिलोनालाई नेइमारको स्थान परिपूर्ति गर्ने खेलाडीको खाँचो परेको थियो। बजारमा चलेका अधिकांस युवा तथा प्रतिभावान खेलाडीलाई भित्राउने प्रयास गरेको बार्सिलोनाले फ्रान्सका युवा फरवार्ड ओस्मान डेम्बेलेलाई नेइमारको स्थानमा भित्राएको छ। २० बर्षीय फरवार्ड डेम्बेलेलाई बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट भित्राउन करिब १२ अर्ब ८४ करोड रुपैयाँमा पाँच वर्षको सम्झौता गरेको हो। यो रकम नेइमार (२६ अर्ब ५३ करोड रुपैयाँ) पछिको दोस्रो ठूलो सम्झौता हो।
फ्रान्सको भेर्नाेनमा जन्मिएका डेम्बेले युरोपका प्रभावशाली युवा फरवार्ड हुन्। गत सिजन ५० खेल खेल्दा उनले १० गोल गरेका थिए। उनले गोलका लागि २० पल्ट अवसर जुर्याएका थिए। च्याम्पियन्स लिगको १० खेलमा २ गोल गरेका डेम्बेलेले बुन्डेस लिगाको ३२ खेलमा ६ गोल गरिसकेका छन्।
डेम्बेलेले १२ बर्षको उमेरमै व्यवसायिक करियर सुरु गरेका थिए। उनले फ्रेन्च क्लब रेनर्स–२ बाट तेस्रो डिभिजनको लिग खेलेका थिए। पाँच सिजन तेस्रो डिजिभन खेलेपछि डेम्बेलेले सन् २०१५ मा फ्रेन्स लिग वानमा १७ बर्षको उमेरमा डेब्यु गरेका थिए। सन् २०१५–१६ सिजनमा लिग वानमा रेनर्सबाट २६ खेलमा १२ गोल गरेपछि डेम्बेलेमाथि जर्मन क्लब डर्टमुन्डको आँखा पर्यो।
डेम्बेले युरोपको माथिल्लो सिजन डेब्यु गरेको तीन वर्षमा तेस्रो क्लबको रुपमा बार्सिलोनाबाट खेल्दैछन्। डेम्बेलेको सिजनमा नयाँ पार्टनर विश्वकै उत्कृष्ट फरवार्ड मेसी र लुइस सुआरेज हुनेछन्। डेम्बेले खास गरी ड्रिबलिङमा अब्बल मानिन्छन्। तीब्र गतिमा बलअघि बढाउने डेम्बेले कहिलेकाही जोखिम मोल्न पनि पछि पर्दैनन्। उनी दुवै खुट्टा उत्तिकै चलाउन पोख्त छन्।
माथिल्लो डिभिजनको लिग खेल्न थालेको दुई वर्षमा डेम्बेले फ्रेन्च लिग वान र जेर्मन बुन्डेसलिगामा कूल ७८ खेल खेलिसकेका डेम्बेलेले २२ गोल र २२ एसिस्ट गरे।
फ्रान्सको राष्ट्रिय टोलीमा गत वर्ष डेब्यु गरेका डेम्बेले ७ क्याप जितिसकेका छन्। पहिलो अन्तर्राष्ट्रिय गोलको रुपमा डेब्बेलेले इङ्ल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेका थिए।
नेइमारको स्थान लिन सक्लान् ?
डेम्बेले प्राविधिक मात्र होइन, शारीरिक रुपमा पनि बलियो मानिन्छन्। उनको अर्काे बलियो पक्ष उनी दुबै खुट्टाले बलअघि बढाउन सक्छन्। यसअघि नेइमारले बायाँतर्फबाट खेल्ने गरेका थिए। अब उनी बायाँतर्फ मात्र नभइ दायाँतर्फबाट पनि खेल्नेछन्। जसले गर्दा बार्सिलोनाले आफ्ना स्टार खेलाडी मेसीलाई सेन्ट्रल फरवार्डको रुपमा खेलाउन सक्छ। विङ्मा अब्बल हुनु डेम्बेलेको अर्काे बलियो पक्ष हो। बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भेल्भार्डेले डेब्बेलेको आगमनले क्लबको अग्रपंक्ति थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। ‘हामीलाई चाहिएको फरवार्ड क्लबमा भित्रिएका छन्,’ इर्नेस्टो भन्छन् ‘डेम्बेले विङ्बाट मात्र नभई मिडफिल्ड र फरवार्ड लाइनमा खेल्न सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।