काठमाडौं- उद्योगपति तथा सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा पक्राउ परेका हुन्।
उक्त सरकारी जग्गा चौधरी ग्रुपले हडपेको विषयमा छानबिनको क्लु भने सीआईबीलाई डा भगवान कोइरालाको पुस्तक ‘हृदय’बाट मिलेको हो। जहाँ कोइरालाले ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा एक लाइन लेखेका छन्। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामासमेत आएको थियो।
उनी लेख्छन्, ‘२०५८ सालमा म त्यहाँ जाँदा तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका नाममा रहेको केही जग्गा छरपस्ट भइसकेको थियो । मुख्य कम्पाउन्डभित्रको करिब ५५ रोपनी जग्गा गङ्गालालको भोगचलनमा आइसकेको थियो। दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ। पूर्वदक्षिणतिरको करिब सात रोपनी जग्गा बाँसबारी फुटबल क्लबले भोग गरिहेको रहेछ।’
उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोद कुमार चौधरी, अरूण कुमार चौधरीलगायत उनको परिवार रहेको थियो। कुनै समय उक्त जग्गा दिएबाफत् बाँसबारी छाला तथा जुत्ता कारखानासमेत सेयर सदस्य बनेको थियो। त्यही बहानामा निकै सस्तोमा सरकारी जग्गा चौधरी ग्रुपले आफ्नो नाममा ल्याएको थियो।
डा कोइरालाका अनुसार २०५२ सालमा तत्कालीन मन्त्रिपरिषद्ले एक राष्ट्रिय हृदयरोग केन्द्र स्थापना गर्न निर्णय गरेलगत्तै सो प्रयोजनका लागि तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको स्वामित्वमा रहेको करिब ३५ रोपनी जग्गासमेत उपलब्ध गराउने निर्णय गरेको थियो। यसैगरी इन्स्टिच्युट अफ प्याथोलोजीका लागि चार रोपनी र इन्स्टिच्युट, अफ न्युरो साइन्सेजका लागि १५ रोपनी जग्गा उपलब्ध गराउनेसमेत निर्णय गरेको थियो। तर मुटुबाहेक अन्य दुई प्रोजेक्टका काम अगाडि बढेनन्।
उक्त पुस्तकमा उल्लेख भएअनुसार प्याथोलोजीको कुनै काम नहुने भएपछि त्यो जग्गा पछि गङ्गालालले नै भोगचलनमा ल्यायो। न्युरोलाई दिइएको जग्गामध्ये करिब छ रोपनी जग्गा सरकारले बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज (धरान) तथा काउन्सिलहरूलाई दियो। दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गएको थियो।
डा कोइरालाले लेखेअनुसार पश्चिमको बाँकी रहेको करिब नौ रोपनी खाली जग्गा र फुटबल ग्राउन्ड भएको करिब ७ रोपनी जग्गा गंगालाले भोगचलन पाउने गरी पछि क्याविनेट निर्णय भएको थियो। तर, बाँसबारी छालाजुत्ताको अन्य जग्गा सरकारी संस्थाकै नाममा गए पनि उक्त १० रोपनी जग्गा भने निजी अर्थात् चौधरी ग्रुपकै नाममा रहेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।