काठमाडौं– ‘सुन्तला सयमा डेढ किलो, गोलभेँडा पचासमा डेढ किलो,’ बुधबार साँझ ७ बजे कलंकी मन्दिर छेवैको फुटपाथमा एक व्यापारी आफ्नो पसलबाट ग्राहक बोलाइरहेका थिए।
उनीसँगै लस्करै फलफूल र तरकारी राखेका व्यापारीहरू ग्राहककै पर्खाइमा थिए।
म भने फलफूल व्यापारीले टेको लगाएको साइकल छेउ पुगेँ। ‘अनार कसरी हो दाइ?’ ती व्यापारीलाई सोधेँ।
सोधेको मात्र के थिएँ, ती व्यापारीको अनुहारमा डरका रेखीहरू दौडिन थाले। उनी अतालिए। मेरो प्रश्नको जवाफ दिन नभ्याउँदै उनी साइकल डोहोर्याएर भाग्न थाले।
हेर्छु, अरु व्यापारी पनि अन्धाधुन्द दौडिरहेका छन्।
उनीहरू किन यसरी भागिरहेछन्, भेउ पाइरहेकै थिइनँ। जब पछाडि फर्केर हेरेँ, विलखबन्दमा परेँ। महानगर प्रहरी बल लेखिएको बा १ ग ११४९ नम्बरको गाडी हुँइँकिएर आयो र छेवैमा रोक्यो। गाडीभरि फलफूलले भरिएका ठेला र साइकलको चाङ थिए। त्यसमाथि महानगर प्रहरी कोचिँदै आएका रहेछन्। गाडीबाट ओर्लिँदै गरेका प्रहरीको अनुहारमा हाँसो फैलिएको थियो। उनीहरू भागेर गल्लीतिर पसिरहेका व्यापारीहरूलाई खेद्न थाले। यता गाडीमा २ महिला प्रहरी बाँकी थिए।
मैले खल्तीबाट मोबाइल निकालेँ। अनि क्यामेरा महानगरको गाडीतर्फ सोझ्याएँ। गाडीमा भएकी महिला प्रहरी रातो अनुहार बनाउँदै मतर्फ औंला ठड्याउन थालिन्। उनले आक्रोशित हुँदै भनिन्, ‘फोटो नखिच्नू!’
मैले करिब २०० मिटर भित्र भाग्दै पुगेका दुई व्यापारी उमेश साह र दर्शन कुमार गल्लीको ओरालो सडकमा लडेको देखेँ। उनीहरूसँगै साइकल पनि लड्यो। साइकलमा भएका फलफूल पोखिए। महानगर प्रहरीले २ जनाकै साइकल फेला पारे। उमेश र दर्शन कुमारले आफ्नो साइकल नखोस्न याचना गरे।
‘सबै माल पोखिएर खतम भयो सर। मेरो साइकल नलगिदिनुस् न,’ उमेश साह रुँदै महानगर प्रहरीसँग याचना गरिरहेका थिए। तर महानगर प्रहरीले उनलाई लछार्दै साइकल खोसेर गाडीमा हाले। वरपरका मानिसहरू रमिता हेरिरहे। कसैले भने प्रहरीहरूलाई अनुरोधको शैलीमा भने, ‘विचरा! गरिबको साइकल नलगिदिनु न। अर्कोचोटी राख्दै नराख भन्नु सर।’
तर महानगर प्रहरीले न याचना सुने, न अनुरोध। उनीहरू खोसेको साइकल गाडीमा हालेपछि हुइँकिए।
दर्शनको शरीरबाट रगत बगिरहेको थियो। चप्पलको फित्ता पनि चुँडिएछ। घटना देखिरहेका मानिसहरू आएर पीडितलाई सहयोग गरिरहेका थिए। कसैले नजिकैको पसलबाट बोरा र प्लास्टिक ल्याएर फलफूल उठाइदिए।
छेवैको घरबाट एकजनाले दर्शनलाई १ जोर पुराना चप्पल ल्याइदिए। ‘हेर, यतिधेरै नोक्सान भयो, मान्छे झण्डै मरेको,’ एक महिलाले भनिन्। ‘सुखले खाएको होइन नि त गरिबले, किन यसरी घाइते हुन्जेल लखेटेको,’ अर्का व्यक्तिले आक्रोश पोखे।
दर्शनको घाउ देखेपछि एक व्यक्तिले सहानुभूतिजन्य लवजमा भने, ‘लडेर चोट लागेछ। अब यसको उपचार कसले बेहोर्छ।’
अघि मूकदर्शक बनिरहेका व्यक्तिहरू पनि यतिबेला बोल्न थाले। साइकक गुमाएका उमेश र दर्शनको अनुहार भने निकै टिठलाग्दो थियो। दर्शन गोडामा लागेका चोटका कारण उठ्न सकिरहेका थिएनन्। जसोतसो उठे। आँखाभरि भरिएको आँसु पुछ्दै दर्शनले भने, ‘१६ हजारको फलफूल किनेको थिएँ। व्यापार हुन पाएकै थिएन। सबथोक सकियो।’
दर्शनले करिब ४ महिना अघि मात्रै ८ हजार रुपैयाँमा सेकेण्डह्याण्ड साइकल किनेका रहेछन्। ४ महिना अघि पनि महानगर प्रहरीले त्यसरी नै उनको साइकल खोसेर लगेको रहेछ। ‘५ वर्षमा ४ ओटा साइकल महानगरले लगिसक्यो,’ दर्शनले भने।
साइकलसँगै लडेका उमेश साह सडकमा बजारिएका थिए। उनीसँग अब न साइकल थियो, न फलफूल। ‘गरिबलाई गरिखान दिँदैन हजुर,’ उनले टिठलाग्दो भावमा भने।
पोहोर साल १० हजारको साइकल प्रहरीले यसैगरी खोसेर लगिदिएछ। ‘आज त बोनी नै भएको थिएन। सबै माल सत्यानाश भो,’ साहले बिलौना पोखे।
महानगरभित्र फुटपाथमा व्यापार गर्न माग गर्दै गत असोजमा अभियन्ता ईःले १९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए। त्यसपछि गत आसोज १० गते काठमाडौं महानगरपालिका र अभियन्ता ईःबिच ४ बुँदे सम्झौतासहित सहमति पनि भएको थियो।
सम्झौतामा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने उल्लेख थियो। तर अहिलेसम्म महानगरले सामान फिर्ता गरेको गरेको छैन। उल्टै जफत गरिरहेको छ।
सहमतिको अर्को बुँदामा थियो, ‘अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहायबमोजिमको समिति गठन गर्ने र साविकमा फुटपाथ सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्ने।’
सम्झौता कार्यान्वयन गर्न २ महिनापछि काठमाडौं महानगरपालिकाले ८ सदस्यीयसमिति गठन गरेको थियो। तरसमितिले सम्झौता कार्यान्वायन गरेको देखिँदैन।
सो सम्झौता अहिलेसम्म कार्यान्वायन हुन नसकेको समितिका सदस्य चिनीकाजी महर्जन बताउँछन्। ‘यो कार्यन्वायनमा ल्याउन महानगरमात्रै होइन। संघीय मामिला मन्त्रालय र सडक विभागको पनि उत्तिकै भूमिका हुनु पर्छ। अहिले कार्यन्वायनको प्रक्रियामा छ। सबै कुरा मिलिसकेको छैन। केही समय लाग्छ,’ उनले भने।
महानगरभित्रको फुटपाथमा व्यापारका कारण सडक दुर्घटना हुने गरेको र फुटपाथ व्यापारले कसैलाई अवरोध नहोस् भनी फुटपाथमा व्यापार गर्न नदिई व्यवस्थित स्थानमा व्यापार गर्न व्यवस्था मिलाउने उनको दाबी छ।
फुटपाथमा कर र सटरको भाडा पनि तिर्नु नपर्ने भएकाले वर्षौवर्ष व्यापारीका पुस्ताले व्यापार गरिहेको उनी बताउँछन्। त्यसैले फुटपाथलाई व्यवस्थित गरी निश्चित स्थानमा सार्ने उनले बताए।
सम्झौता कार्यान्वायन नहुँदासम्म महानगरले फुटपाथमा व्यापार गरेर अवरोध गरेमा फुटपाथबाट हटाउने र हट्न नमानेमा सामान जफत गर्ने गरिरहेको उनले बताए।
महानगर प्रहरीले अमानवीय व्यवहार गर्नु नहुने कुरामा चाहिँ उनी सहमत छन्। यद्यपि, महानगरलाई गरिबमाराको आरोप लागेको भन्दै त्यसको प्रतिरक्षामा उनी थप्छन्, ‘महानगर गरिबमारा पनि होइन तर धानबाली लगाएको ठाउँमा झार उखेल्दा धान पनि उखेलिन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।