काठमाडौ– ‘२०५८ माघ ३ गते विद्यालयमा मिटिङ्ग छ, छिट्टै जान्छु भनेर घरवाट निस्कनु भयो। भर्खरमात्र पाणिनी संस्कृत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाउनु भएको थियो। शिक्षक र विद्यार्थी आउनुअघि पुग्नुपर्ने हतारका बीच निस्कनु भएको थियो। हिँड्ने बेलामा उहाँले विद्यालयमा स्तरोन्नति गर्ने मिटिङ भएकाले बेलुका पनि अलि ढिला हुनसक्छ भन्नुभएको थियो । तर २ नबज्दै हामीले उहाँलाई माओवादीले अपहरण गरेको खवर पायौं। साँझपख त हामीले कल्पनै नगरेको खबर पत्याउन बाध्य भयौं ............’
यति भनिसक्दा १८ वर्षअघि विद्यालयबाट जबर्जस्ती निकालेर क्रुरतापूर्वक हत्या गरिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीकी श्रीमती र छोरा सुमन अधिकारीको आँखाका डिल भरिइसकेका थिए।
चन्दा दिन्न भनेको, संस्कृत शिक्षा पढाएको र माओवादीको पकड बिस्तारको आसमा उनीहरुले निर्दोष शिक्षक अधिकारीको हत्या गरेका थिए। तर हत्यामा संलग्नहरु अहिलेसम्म सजायको घेरामा आउन सकेका छैनन्।
हत्यामा संलग्नमाथि जाहेरी दर्ता भई अनुसन्धान हुनुपर्दछ भनि हालेको मुद्दामा छोरा सुमनले सर्वोच्चबाट अहिलेसम्म तारेख खेपिरहेका छन्।
६ गाउँ विकास समिति रहेको लमजुङ्गको दुराडाँडा क्षेत्रमा त्यतिबेला माओवादीको प्रभाव थिएन। उनीहरु त्यहाँ संगठन निर्माणको जमर्को धेरै पहिलेदेखि गरिरहेका थिए। तत्कालीन समयमा संगठन विस्तारको एकमात्र हतियार गाउँमा त्रास सिर्जना गरेर आस देखाउने थियो। दुराडाँडामा प्रभावशाली व्यक्ति छानेर हत्या गर्ने र जनमानसमा त्रास मच्चाउने रणनीतिमा उनीहरु लागिरहेका थिए। उनीहरुकै भाषामा ‘तानाशाह वा सामन्तीको सफाया गर्दै जनसत्ता गठन गर्ने’ लक्ष्य मिल्न सकेको थिएन ।
माओवादीको त्रासका कारण कैयौं शिक्षक, राजनीतिक तथा सामाजिक कार्यकर्ता गाउँबाट विस्थापित त भएका थिए तर संगठन विस्तार हुन सकेको थिएन।
२०५८ भदौतिर पाणिनी संस्कृत माविका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भए। अब विद्यालयको प्रधानाध्यापकको कार्यभार मुक्तिनाथ अधिकारीको काँधमा आइप¥यो। उनी प्रधानाध्यापकसँगै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलका स्थानीय सम्पर्क व्यक्ति पनि थिए। २०५८ दसैंमा माओवादीहरू विद्यालयमा आएर सबै शिक्षकहरूको २५ प्रतिशत तलब जम्मा पारेर चन्दा दिन प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिए।
लगत्तै उनले विद्यालयको वैठक बोलाएर चन्दाको विषयमा माओवादीवाट आएको प्रस्ताव र चिठीबारे छलफल गराए। विद्यालयमा चन्दा नदिने सल्लाह भयो । दसैंको सप्तमीका दिन माओवादीहरू घरैमा आए, तर अधिकारीले विद्यालयमा वैठक बस्दा चन्दा दिन नसकिने निर्णय भएको र आफू त्यसभन्दा पर जान नसकिने जानकारी गराए।
परिवारका साथ मुक्तिनाथ अधिकारीसुमन सम्झन्छन्– बुबाले घरमै आएका माओवादीलाई विद्यालयका शिक्षकहरुको निर्णय सुनाउँदै चन्दा नदिने जानकारी गराएका थिए। ‘लगत्तै उनीहरुले आफूले मात्र भए पनि चन्दा दिन आग्रह गरे,’ सुमनले उक्त दिन सम्झँदै भने, ‘त्यसमा पनि बुबाले विद्यालयको सबै शिक्षकको खिलापमा आफू जान नसक्ने जवाफ दिनु भयो।’
चन्दा नपाउने भएपछि माओवादीले खाना खुवाउन प्रस्ताव गरे। उनीहरूको त्यो प्रस्तावपनि अस्वीकार गरी घरको जहान बिरामी भएकाले सबै मिलेर पकाऊ र खाऊ भन्ने प्रस्ताव बुबाले राख्नुभएको सुमनको सम्झना छ। तर माओवादीहरुले यसैलाई निहु बनाए। यसको सजाय भोग्नुपर्ने चेतावनी दिएर उनीहरु उक्त दिन गए।
२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे । विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे। अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’ भनेर जवाफ दिए।
तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए। शिक्षक र विद्यार्थीले विरोध गरे। शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए।
![mm---Copy-1705482463.jpg](https://nepallive.com/uploads/posts/mm---Copy-1705482463.jpg)
आफ्नै घरनजिकैको ठाडो गल्लीबाट शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो । सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो । ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन, यो पहिलो कारबाही हो भन्ने भाषण गरेका थिए रे’ सुमनले सम्झे ‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि बस्ती नभएको स्थानमा हिमालको सामुन्ने हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे। टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन् ।’
शिक्षक संघमा आबद्धता, तोकेअनुसार चन्दा नदिएको झोँक, संस्कृत पढाउन बन्द नगराएको तथा माओवादीको हिंसात्मक क्रियाकलापप्रति असहमति राखेको आरोपमा अधिकारीको हत्या गरिएको थियो ।
‘हामी त घरमै थियौ एक्कासी विद्यालयवाट अपहरण गरेको कुरा हतारिँदै आएका एक विद्यार्थीले सुनाए। हामी पछि–पछि त गयौं, तर हामी पुग्दा उहाँको क्रुरतापूर्वक हत्या गरिसकेका थिए,’ उक्त दिनको सम्झना गर्दै अधिकारीकी श्रीमतीले भनिन् ‘ लास हेर्न पनि डर लाग्ने थियो ।’
मुक्तिनाथ अधिकारीको घरउनीमाथि ठूलो बज्रपात भयो । चार सन्तानको जिम्मेवारी पनि थपियो, सँगै श्रीमानको न्याय माग्ने काम पनि। जेठी छोरीको भर्खर बिहे गरिएको थियो भने दुई छोरा एक छोरीको जिम्मेवारी अब उनकै काँधमा आइपरेको थियो। डेढ वर्षको उमेरमा आफैं टुहुरो भएका मुक्तिनाथ माओवादीबाट मारिएको घटनाले छोरा–छोरीलाई पनि टुहुरा बनायो ।
उतिबेला संकटकालको बडो असहज अवस्था थियो। राजनैतिक दलका कार्यकर्ता तथा शिक्षक आफ्नो थातथलोबाट विस्थापित भएका थिए। माओवादीको निसानामा परेपछि अधिकारी परिबारलाई पनि विस्थापित हुन सल्लाह दिइएको थियो तर उनी विद्यालय र आफू जन्मेको ठाउँ नछाड्ने अडानका कारण शिकार भए।
चन्द्रपाटा दुराडाँडास्थित नेपाल बैंक लिमिटेड लुट्न आएका माओवादी कार्यकर्ताहरूलाई गाउँलेले समातेर कुटीकुटी मार्न खोज्दा अधिकारकर्मी मुक्तिनाथ अधिकारी एवं तत्कालीन गाविस अध्यक्ष ठाकुर तिवारीको अथक प्रयासले बचाएर प्रहरीको जिम्मा लगाइएको थियो ।
अधिकारी परिवारको न्याययात्रा बेसीशहरदेखि सर्वोच्चसम्म
अधिकारी परिबारको न्यायको यात्रा अन्नतकालसम्म नटुङ्गिने यात्रा झैं भएको छ । २०५८ माघमै जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा श्रीमती इन्दिरा अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई दण्ड र पीडित परिवारलाई न्याय दिन माग गर्दै जाहेरी दिइन्। त्यसपछि सुरु भएको न्याययात्रा टुंगिएको छैन। यो वर्ष अधिकारीको १८ औं वार्षिक स्मृति हो।
सर्वोच्च अदालतमा घटनाको अनुसन्धान माग गर्दै दायर भएको निवेदन पनि वर्षौंदेखि तारेख लिनेमा सीमित भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरीउपर कुनै कारबाही अगाडि बढाएन। माओबादीहरु भmन शक्तिशाली भएपछि यो घटनाबारे छानबिन अगाढि बढाउनेभन्दा लुकाउनतिर राज्यसंयन्त्र केन्द्रित भयो। मुक्तिनाथकी श्रीमतीले हिम्मत हारिनन्। फेरि दोस्रो जाहेरी दिइन्। १२ जना माओवादी कार्यकर्ताविरुद्ध इन्दिरा अधिकारीले २०६७ चैत २४ गते जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा पुरक किटानी जाहेरी दिइन्।
उनले आफ्नो पतिको हत्यामा लमजुङ जिल्ला तत्कालीन इशानेश्वर गाविस ४ बस्ने प्रभु भन्ने साधुराम घिमिरे, सातधारे गाविस ५ बस्ने दवेन्द्र पौडेल, कास्की जिल्ला मिजुरे ५ का धुव्र अधिकारी लगायतका १२ जनाको संलग्नता रहेकाले कारबाही हुनुपर्ने माग गरिन्। ‘तर मैले नाम तोकेर दिएको यो किटानी जाहेरीमा वषौँसम्म प्रहरी कार्यालयले झुलायोमात्र, कुनै अनुसन्धान गरेन’ उनी सम्झन्छन्, ‘चुप लागेर अन्याय सहन नसकेपछि मैले फेरि मानव अधिकार आयोगमा २०६७ सालमा निवेदन दिएँ।’
इन्दिराको निवेदनपछि आयोगले अनुसन्धान गर्दै किटानी जाहेरीमा उल्लेख भएका व्यक्तिमाथि मुद्दा चलाउन २०६९ सालमा सरकारलाई सिफारिस गरेको थियो। आयोगले अनुसन्धानबाट युद्धमा संलग्न नभएको एवं निशस्त्र व्यक्ति मुक्तिनाथ अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको पाइएकाले घटनामा संलग्न कार्यकर्ताको पहिचान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कानुनी कारबाही गर्न सिफारिस गर्यो।
आयोगले मृतकका हकवालालाई तीन लाख रुपियाँ क्षतिपूर्ति रकम दिन निर्देशन दियो पनि।
हत्या आरोपीहरू उल्लेख गरिएको किटानी निवेदनउपर आयोगले घटना गराउन को, कति जिम्मेवार छ, सत्यतथ्य अनुसन्धान एवं दोषी किटान गरी सरकारलाई अभियोजनका लागि सिफारिस गर्न भन्यो । ‘आयोगले गरेको अनुसन्धानले सबैमाथि मुद्दा चलाउन भनेको भए केही हुन्थ्यो कि’ इन्दिराले सम्झिइन् ‘तर आयोगले पनि फितलो अनुसन्धान गरेर सिफारिस गर्दा सरकारले खेल्ने बाटो पायो।’
आयोगको यही सिफारिस र प्रहरी कार्यालयले अनुसन्धान नगरेपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतमा मुद्दा फैसला हुन सकेको छैन। सर्वोच्चले जवाफ माग्दा अनुसन्धान भईरहेको जवाफ प्रहरी कार्यालय लमजुङ्गले दिने गरेको तर हालसम्म कसैलाई पनि पक्राउ गरि बयान नलिएको इन्दिराको दुखेसो छ।
‘हाम्रा लागि न्याय कहिल्यै पनि आएन, १८ वर्षसम्म यहीँ भन्दै र सुन्दै आएका छौं’ उनले भनिन् ‘मेरा पतिलाई के अपराधमा र कसले मारेको हो मैले कहिल्यै जान्न पाउँदिन?’ उमेरले ७० काटेकी उनले आफू बाँच्दासम्म पतिको हत्यारालाई सजाय गरेको देख्न पाउने आस बिस्तारै सेलाएको बताइन्। ‘१८ वर्षसम्म त यस्तैगरी पन्छाईरहे, तर अब के न्याय देलान् र?’ इन्दिराले सम्झिइन्, ‘खै अब कुन निकायमा जानु पर्ने हो, म त पढेको छैन, जान्दिनँ।’ पुन: प्रकाशित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।