काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न संघ र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा जोड दिएका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए।
संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए। ‘सङ्घीय सरकार पालिकालाई सामर्थ्यवान् बनाउन मिलेर काम गर्न तयार छ’, उनले भने, ‘सङ्घीय सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ।’
विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए। उनले काठमाडौं महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गरे।
जाजरकोट भूकम्पलगत्तै काठमाडौं महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भनी शुभेच्छा प्रकट गरे। राजधानी रहेको महानगर पनि भएकाले काठमाडौं महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘विद्यमान संरचना कति सुरक्षति छन्, कति असुरक्षित छन् भनेर जोखिम आकलन गर्ने, असुरक्षित रहेका भवनको प्रबलीकरणलगायत विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना भूकम्पबाट सुरक्षित हुनेगरी संहिता पालना गर्न गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास छ।’
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन्। भूकम्पलगायत विपत्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँदै डंगोलले स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण गरिनुपर्ने बताइन्।
१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी ८ हजार ५१९ जनाको मृत्यु भएको थियो। उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए। निजी घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी २ लाख ७ हजार २४८ संरचना भत्किएका थिए।
यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको निधन भएको थियो भने ७ लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।