काठमाडौं– कात्तिक २० गते, सोमबार महोत्तरीको जलेश्वर–८ मा भएको लुटपाटको घटनामा संलग्न रहेका भनिएका व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरेको छ। पक्राउ परिसकेको अवस्थामा पनि भाग्न खोजेपछि प्रहरीले चोरी घटनाका अभियुक्तमाथि गोली प्रहार गरेको हो।
कात्तिक २० गते, सोमबार बिहान २:३० बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो। मूल ढोका फुटाएर करिब ६–७ जनाको समूहमा घरभित्र छिरेका लुटेराहरुले ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद १ लाख ७५ हजार रुपैयाँ चोरी गरेको थियो।
हतियारसहितको समूहले लुटपाटका क्रममा घरमा रहेका व्यक्तिलाई समेत घाइते बनाएका थिए। डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीया शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीया खिमा चौधरी घाइते भएका थिए।
लुटपाटको घटनापछि अनुसन्धानमा रहेको प्रहरीले विशेष स्रोतबाट लुटपाटमा संलग्नहरु रौतहटको गुरुडा क्षेत्रमा रहेको सूचना पाएको थियो। विशेष सूचनापछि प्रहरीले कात्तिक २८ गते, मंगलबार गरुडा क्षेत्रमा सर्च अभियान चलाएको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक (असई) रामेश्वर प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले रौतहटको गरुडा नगरपालिका–४ पानी ट्याङ्कीबाट २ जनालाई नियन्त्रणमा लिएको थियो।
असई यादव नेतृत्वको टोलीले लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिँदा प्रहरीले शक्ति पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ राउन्ड बरामद गरेको थियो। हतियारसहित पक्राउ परेका उनीहरु जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा प्रहरीको गाडी बिग्रिएपछि भाग्न खोजेका थिए।
महोत्तरीको सीमा क्षेत्र सोनमा गाउँपालिका–५ बाट प्रहरीले अर्को गाडीमा राख्न खोज्दा उनीहरु हत्कडीसहित भाग्न खोजेका थिए। जसक्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिप कुमार गिरी नेतृत्वको प्रहरी टोलीले गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
भाग्दै गरेका शक्ति पासवान र अजय पासवानको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र ४ राउन्ड गोलीसहित १ थान मोबाइल, नगद ४ हजार २८० रुपैयाँ, सिक्का र चाँदीको ब्रासलेट बरामद भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।