काठमाडौं- कराँतेका दुई प्रशिक्षकलाई सामूहिक बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको हो।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उक्त फैसला सुनाएको हो। कात्तिक १७ गते दोषी ठहर गरे पनि सजाय निर्धारण भने आज गरेको हो।
२०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामूहिक बलात्कार गरेका थिए। विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।
सामूहिक बलात्कार प्रकरणमा पक्राउ परेका उनीहरु दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका थिए। सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।