काठमाडौं– सरकारले चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ। टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउन खोज्ने प्रकारका भिडियोहरु हटाउन अनुरोध गरेको जानकारी दिएको छ।
टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै दोषीउपर कानुन बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्यूरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ।
छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने मन्त्रालयले विश्वास लिएको छ।
टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए।
पछिल्लो समय टिकटकमा अश्लिल साम्रगी पोस्ट हुनुका साथै सामाजिक सद्भाव बिगार्ने उद्देश्यले भिडियो बनाएर राख्ने क्रम बढ्दै गएपछि मन्त्रालयले टिकटकका प्रतिनिधिहरुसँग छलफल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।