काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियारले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई पनि प्रतिवादी बनाएको छ।
आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रममा कृषकलाई कम गुणस्तरको कृषि उपकरण उपलब्ध गराउँदै भ्रष्टाचार गरेको दाबी आरोपपत्रमा गरिएको छ। अख्तियारमा रकम अनुसारको कृषि सामग्री खरिद नगरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गरेको थियो।
अख्तियारको अभियोगपत्रमा प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी/नगराई भुक्तानी टिप्पणी सदर गरेको पाइएको दाबी गरिएको छ।
अख्तियारले १ करोड ३१ लाख ६० हजार रुपैयाँ नोक्सान भएकाले सो बराबर बिगो भराउन माग गरेको छ। त्यस्तै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय पनि गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।