काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमात्रै प्राथमिकतामा पर्नुले शंका उब्जाएको बताएका छन्।
महासचिव गुटेरेसको नेपाल भ्रमणको सम्बन्धमा कुराकानी गर्दै अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्राडा खड्ग केसीले यस भ्रमणमा राष्ट्रिय स्वार्थ भन्दा दलगत स्वार्थलाई प्राथमिकतामा राखिएको बताए। उनले भ्रमणलाई बहुपक्षिय र राष्ट्रिय स्वार्थमा काम लाग्नेगरी अगाडि सार्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु नपर्ने उनको भनाइ छ। उनले घरभित्रको मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपाललाई फाइदा नगर्ने बताए।संक्रमणकालिन न्याय टुंग्याउने कुरा अब संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्रभित्र नपर्ने उनको बुझाई छ।
उनी भन्छन्, ‘शान्ति प्रक्रिया हाम्रो आन्तरिक कुरा हो। हामी अनमिनलाई बोलायौं। अनमिनले नसकेर हामी आफैंले गरेको हो। यतिखेर अलि रणनीतिक जस्तो पनि मैले अनुभूत गरेको छु कि संयुक्त राष्ट्रसंघको महासचिवले आएर हाम्रो शान्ति प्रक्रियामा टिआरसीलाई उनले राम्रो सन्देश दिनुभयो तीन वटा। मानव अधिकार सम्बन्धी विश्वव्यापी मान्यताहरुलाई टिआरसीमा अंगिकार गर्नैपर्छ। सर्वोच्च अदालतको आदेश पनि अक्षरश पालना गर्नुपर्छ। पीडितको आवाज पनि सुन्नुपर्छ। टिआरसीको कुरा संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्रभित्रको कुरा होइन हाम्रो आन्तरिक मामिला हो। अर्को गिजोलिने कुरा कहाँ हुनसक्छ भने यदि राजनीतिक नेतृत्वलाई लाग्यो कि हामीलाई इन्फ्युन्स् गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवलाई गुहारियो भन्ने। त्यो ढंगले राजनीतिक नेताहरुलाई रियलाइज भयो, आभाष भयो भने गिजोलिन्छ।’
उनले महासचिव गुटेरेसको नेपाल भ्रमणमा तयारी अपुग भएको टिप्पणी गरे। नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा दिएको योगदानको सम्बन्धमा कुराकानी हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ। यस भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकल अजेण्डालाई प्रस्तुत गरेको उनको आरोप छ।
उनले भने, ‘हतारमा कुनै निश्चित उद्देश्यका लागि मात्रै भन्ने हिसाबले हाम्रा कुटनीतिज्ञहरु, हाम्रा राजनीतिक नेतृत्वले हतारमा गरेको तयारी जस्तो अनुभूत भइरहेको छ। जति महत्त्वपूर्ण ढंगले हाम्रा अजेण्डाहरु संयुक्त राष्ट्रसंघमा हामीले सुरक्षा परिषद्को अस्थायी सदस्य भयौं, अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ हामीले जस्तो भुमिका खेलिरहेका छौं। त्यसमा हामीले के स्टेक पाउनुपर्छ भनेर गृहकार्य गरिनुपर्थ्यो। त्यो बाहेक खाली वर्तमान सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीको आफ्नो एकल अजेण्डालाई अलि बढी प्रभाव पार्ने हिसाबले प्रस्तुत गरिएको कुरा। हाम्रो कुटनीतिक संयन्त्रले पनि त्यसैमा काम गर्यो होला। राजनीतिक नेतृत्वले जस्तो निर्देशन दियो त्यस्तै काम गर्यो।’
प्राडा केसीले यस भ्रमणका क्रममा भूपरिवेष्ठित राष्ट्रहरुले पाउनुपर्ने सामुन्द्रिक हकको सम्बन्धमा कुरा उठाउनुपर्नेमा जोड दिए। त्यस्तै नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गरे पनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिइएकोप्रति पनि नेपाली पक्षले कुरा उठाउनुपर्ने बताए। त्यसैगरी नेपालको सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन केन्द्र बनाउनुपर्ने विषयलाई नेपालले प्रस्तावको रुपमा राख्न सकेमा महासचिव गुटेरेसको भ्रमणको विश्वव्यापी सन्देश जाने उनको बुझाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।