काठमाडौं- प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न असफल नेकपा एमालेमा प्यानलगत प्रतिस्पर्धा रोक्न समेत मुश्किल देखिएको छ। बागमती प्रदेशमा अध्यक्षका उम्मेदवारहरु पदाधिकारीमा अनौपचारिक समीकरण बनाउन सक्रिय देखिएका छन्।
बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी गरिए पनि उम्मेदवारको संख्या धेरै भएपछि दिउँसो १ बजे सारिएको छ। भोटिङ मेसिनबाट मतदान गर्ने निर्णय गरिएकाले त्यसको तयारी गर्न समय लागेको निर्वाचन मण्डलले जनाएको छ।
अध्यक्षमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशर बुढाथोकी र केश पाण्डे गरी पाँच प्रतिस्पर्धी छन्। उपाध्यक्षमा पाँच र सचिवमा चार जनाले उम्मेदवारी दिएका छन्।
सचिवका दाबेदारहरुसँग अध्यक्षका प्रत्यासीहरुले समीकरण निर्माण गरेका हुन्। पाँच जनामध्ये तीव्र प्रतिस्पर्धा हुने ठानिएको अध्यक्षका उम्मेदवार ढुंगेलले हस्त पण्डितलाई सचिव बनाउन खोजेका छन्। पूर्वतयारी अन्तर्गत नै उनीहरुले उम्मेदवारी दिएको बताइन्छ। अर्का प्रत्यासी दाहालले भने नवराज सिलवाल वा रत्ना गुरुङमध्ये एकलाई आफ्नो प्यानलमा राख्न छलफल चलाएका छन्।
धादिङका रामकुमार अधिकारी समेत सचिवका उम्मेदवार छन्। जबकी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रमै प्यानल बनाएको जानकारी पाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए। प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, 'प्रतिस्पर्धा गरौं तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। हारजित स्वीकार्नुहोस्।'
तीव्र प्रतिस्पर्धा ढुंगेल र दाहालबीच
एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र महेश बस्नेतले रामेछापका कैलाश ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास सुरुदेखि नै गरेका हुन्। मकवानपुरका कृष्णप्रसाद दाहालले दाबी नछाडेपछि प्रतिस्पर्धा पक्का बनेको थियो।
वर्तमान अध्यक्ष केशव पाण्डे र पूर्व पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ पनि महासचिव पोखरेल निकट मानिन्छन्। उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने गरी उम्मेदवारी रोक्न बुधबार नेताहरुले प्रयास गरेका थिए। त्यस कारण दाहाल, ढुंगेल र बुढाथोकीले दर्ता सुरु भएलगत्तै उम्मेदवारी दिएका थिए भने श्रेष्ठ र पाण्डेले अन्तिम समयमा मात्रै उम्मेदवारी दिए।
बागमती प्रदेश अधिवेशन उद्घाटनका समयमा केन्द्रीय सदस्य रहेका ढुंगेल प्रभावशाली देखिएका थिए। शीर्ष नेतृत्व तहबाटै उनलाई अध्यक्ष बनाउने भावना सञ्चार भएपछि उनको प्रभाव देखिएको हो। तर अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेपछि भने उनी केही कमजोर बनेका छन्। उनकै गृहजिल्ला रामेछापका बुढाथोकीले समेत काउन्टर दिएपछि प्रभाव कम भएको छ।
ढुंगेल रामेछापका पूर्व प्रदेश सदस्य तथा पूर्व जिविस सभापति हुन्। प्रतिनिधि सभामा भने उनी २०४८, २०५१, २०६४ र २०७० मा गरी चार पटक नै पराजित भएका थिए।
आफ्नो भोट काट्ने सम्भावितको उम्मेदवारलाई रोक्ने मामलामा भने मकवानपुरका दाहाल सफल देखिन्छन्। उनले अध्यक्षका आकांक्षी कृष्णभक्त पोखरेललाई उम्मेदवारी दिनबाट रोकेका छन्।
दाहालका पक्षमा यसअघि लुम्बिनी प्रदेशमा देखिएको उपाध्यक्ष विष्णु पौडेल समूहका साथै पूर्व १० बुँदे पक्षधर छ। बागमतीको नेतृत्वका रुपमा गोकुल बास्कोटा उनलाई जिताउन सक्रिय छन्।
दाहालले मकवानपुर १ बाट २०४८, २०५६ र २०७४ सालमा प्रतिनिधि सभामा जितेका थिए। गत निर्वाचनमा भने उक्त क्षेत्रमा एमालेले कमल थापालाई समर्थन गर्यो। एमालेको मकवानपुर जिल्लाको उनले चार कार्यकाल नेतृत्व गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।