काठमाडौं– प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्नमा केन्द्रित हुने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन आफू अमेरिका भ्रमणमा जान लागेको जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते, शनिबार अमेरिका प्रस्थान गर्ने जानकारी गराए।
अमेरिका भ्रमणका क्रममा आफूले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने, साइडलाइनमा केही अन्तर्क्रियामा पनि भाग लिने प्रधानमन्त्रीले जानकारी दिए। महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र सम्मुनत नेपाल निर्माणमा प्रयासका विषयहरुलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई आफूले अवसरको रुपमा लिएको प्रधानमन्त्रीले उल्लेख गरे।
‘महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र सम्मुनत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरका रुपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने बताए। साथै, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने उनको भनाइ छ।
संक्रमणकालीन न्यायलाई ‘तार्किक निष्कर्ष’मा पुर्याउन अन्तर्राष्ट्रिय सद्भाव खोजेका प्रचण्डले अमेरिका भ्रमण अगाडि नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउन खोजेका थिए। तर दलहरुबीच सहमति जुट्न नसक्दा उक्त विधेयक अहिले प्रतिनिधि सभाको मानव अधिकार समितिमा विचाराधीन छ।
प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रसंघीय महासभामा सहभागी हन जान लागेको बेला नेपाललाई विशेष अवसर पनि आइलागेको बताए। अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चहरुमा धारणा राख्नुपर्ने जिम्मेवारी आइपरेको प्रधानमन्त्रीले उल्लेख गरे।
‘यस वर्षदेखि अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चहरुमा धारणा राख्नुपर्ने जिम्मेवारी पनि हामीलाई आएको छ। यो सधैं प्राप्त हुने अवसर होइन, यो विशेष कालखण्डमा, विशेष निर्णयद्वारा यो अवसर हामीलाई प्राप्त भएको छ,’ प्रचण्डले भने।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा र साइडलाइनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा अल्पविकसित राष्ट्रहरुले झेल्दै आएका विशिष्ट चुनौतीहरु तथा जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय पर्वतीय देशमा परिरहेको गहिरो र दूरगामी प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ।
‘अल्पविकसित देशहरुको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्दै आएका विशिष्ट चुनौतीहरुबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परिरहेको गहिरो र दूरगामी प्रभावहरु लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको छ,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।