काठमाडौं– सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो १४ महिने रोडम्याद न्यायाधीश नियुक्तिदेखि सुरु हुने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएर पदबहाली गर्न सर्वोच्च पुगेका श्रेष्ठले न्यायाधीश नियुक्तिदेखि न्यायको अनुभूति हुनेगरी मुद्दाको पालो आउनेसम्म बनाउने दाबी गरे।
पत्रकारहरूले सोधेका प्रश्नमा उत्तर दिँदै प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो कार्यकालमा केही गरेर जाने अठोट लिएको पनि उल्लेख गरे।
‘न्यायाधीश नियुक्तिमा भोलिदेखि नै औपचारिक र अनौपचारिक रुपमा लाग्छु। अब यो वा त्यो बहानमा ढिलो गर्न हुँदैन,’ उनले भने, ‘देशभरका अदालतमा न्यायाधीश रिक्त छ। मेरो तत्काल नियुक्तिको थालनी गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ।’
न्यायाधीश नियुक्ति अब ढिला नहुने र आफूले न्याय परिषद्को बैठक राखेर तत्काल प्रक्रिया सुरु गर्ने दाबी उनले गरे। उनले यसमा सरोकार हुने सबैसँग छलफल गर्ने पनि बताए। प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा पुराना मुद्दा धेरै भएको र न्यायाधीश कम भएको कुरा आफूले महसुस गरेको र त्यसको समाधानको सुरुवात आफूले कामु प्रधानन्यायाधीश भएलगत्तै सुरु गरिसकेको जानकारी दिए।
‘१७ वर्ष अघिका मुद्दाहरू पनि थिए। केही मुद्दा छिनिएको छ। पुराना मुद्दाहरू चाँडो छिन्न नया व्यवस्था लागू गरेका छौँ,’ उनले भने, ‘अभियान फाँट नै चलाएर पुराना मुद्दा घटाउने क्रम सुरु भएको छ। यो अभियान निरन्तर हुनेछ।’ उनले पुराना मुद्दा फर्स्यौट र छिटो न्याय दिन सबैको सहयोग हुनुपर्ने भन्दै यसका लागि पनि पहल गर्ने बताए।
‘न्यायपालिका आफैले लिनुपर्ने जिम्मेवारी लिने हो। मेरो कार्यकालमा कर्मचारी र न्यायाधीश एउटा मिसनमा अघि बढ्छौँ ’ उनले भने, ‘त्यो भनेको पुराना मुद्दाको छिटो फैसला गर्ने हुनेछ।’ उनले न्यायालयले न्यूनतम् बजेट समेत नपाउँदा काम गर्न समस्या भएको बताए।
पारिवारिक अदालत अब छिट्टै सुरु हुने जानकारी पनि उनले दिए। पारिवारिक अदालतको व्यवस्था कानुनमा भएको तर कार्यान्वयन नभएकाले आफ्नो कार्यकालमा त्यो पूरा हुने प्रतिबद्धता उनले गरे। उनले पारिवारिक अदालत जिल्ला अदालत काठमाडौं र ललितपुर तथा भक्तपुरबाट सुरु हुने जानकारी दिए। काठमाडौंमा २ जना न्यायाधीश ,ललितपुर र भक्तपुरमा १/१ जना न्याायधीशको बेञ्च नै यही मुद्दा फैसला गर्न तोकिने पनि उनले बताए।
‘महिला, बालबालिका र असहायका मुद्दा हेर्ने बेञ्च बनाउने अभ्यास सुरु हुन्छ। काठमाडौंमा २ तथा ललितपुर र भक्तपुरमा १ जना न्यायाधीश रहने बेञ्च म चलाउँछु,’ उनले भने ‘भोलिदेखि नै कार्ययोजना बनाएर चाँडै लागू गर्छु। ’
उनले न्यायालयको जनआस्थामा भएको गिरावट पनि माथि उकास्ने काम गर्ने बताए। विगत एक दुई वर्षमा न्यायालयमा संकट आएको कुरा संसदीय सुनुवाइ समितिमा पनि प्रश्न आएको भन्दै उनले जनविश्वास न्यायालयको आधार भएकाले यसलाई कायम गराउने आफ्नो मुख्य लक्ष्य हुने बताए।
‘विगतमा केही घटना भयो होला तर अब त्यो छाप परेको कुरा मेटाउन र हटाउन परिणामबाट देखाउनै पर्छ,’ उनले भने, ‘अबका दिनमा त्यस्तो विधि न्यायालयप्रति टिकाटिप्पणी नहुने बनाउने मेरो अठोट हो।’ उनले यस्ता टिकाटिप्पणी कम गर्न प्रविधिमैत्री अदालत बनाउने अभियान नै आफूले सुरु गर्ने बताए।
‘न्यायालयमा अब फरक पेसी व्यवस्थापन हुन्छ,’ उनले भने, ‘प्रविधिमैत्री अदालत भएपछि अनियमितता र अड्कालबाजी हुँदैन।’ त्यस्तै अदालतको अर्को समस्या फैसला कार्यान्वयन नहुने भएकाले यसका लागि पनि अभियान नै सुरु गर्ने उनले बताए।
फैसला कार्यान्वयनको बोध धेरै भएकाले अब न्यायालयले मात्र नसक्ने कुरा आफूले सरकारलाई पनि राखेको भन्दै उनले आफूले १७ स्थान पहिचान गरेकाले यही कार्ययोजनामा काम गर्ने बताए।
‘फैसला कार्यन्वयनमा न्यायालयले मात्र थेग्न सक्ने अवस्था छैन। अरु देशमा कार्यपालिकाले गर्दछ,’ उनले भने,‘तर अब न्यायालयले नै नगरी हुँदैन। त्यसैले मेरो कार्यकालयमा १७ ठाउँ पहिचान गरेकाले अभियानकै रुपमा कार्यन्वयन गर्न लागि सकेको छु।’ त्यस्तै उनले अनुसन्धानमा रहेका र न्याय परिषद्मा तानिएका व्यक्तिहरूको हकमा छिटो किनारा हुने पनि बताए।
‘अनुसन्धानका क्रममा रहेका न्यायाधीशहरूको बसेरमा छिटै न्यायपरिषद् बसेर निर्णय लिन्छ,’ उनले भने ‘दोषी भए कारबाही हुन्छ, निर्दोष भए सफाइ पाउँदै काममा फर्कनुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।