रुपन्देही – भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी परिवारलाई समवेदना दिएका छन्।
लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन गराएका हुन्।
प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
सम्हालिन आग्रह गर्दै ओलीले भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’
‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ’ उनले भनेका थिए।
प्रकृतिका बुवा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन भनेका थिए। उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस्। दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस्।’
सोमबार बिहान सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेर पूर्वमन्त्री बस्नेतले परिवारसँग भेटघाट गरेको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन्।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।