काठमाडौं– महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ। नेपाली समयअनुसार बुधबार दिउँसो पौने ४ बजे सुरु भएको खेलमा पाहुना टोली इंग्ल्याण्डले अष्ट्रेलियालाई ३–१ गोल अन्तरले हराउँदै फाइनल पुग्यो।
खेलको ३६ औं मिनेटमा इला टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्ड दोस्रो हाफको ६३ औं मिनेटमा भने बराबरीमा आइपुगेको थियो।
६३ औं मिनेटमा कट्रिना गोरीको पासमा सामन्थ केरले गोल गर्दै अष्ट्रेलियालाई बराबरीमा ल्याएकी थिइन्। ७१ औं मिनेटमा मिल्ली ब्राइटको पासमा लौरेन हेम्पले गोल गरेपछि इंग्ल्याण्डले २–१ को अन्तर बनायो।
त्यसपछि हेम्पकै पासमा ७६ औं मिनेटमा एलिसा मिला रुसोले गोल गर्दै इंग्ल्याण्डको लागि तेस्रो गोल गरिन्। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि सहआयोजक अष्ट्रेलियालाई ३–१ ले हराउँदै इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा पुग्न सफल भयो।
अष्ट्रेलिया पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने इंग्ल्याण्डले कोलम्बियालाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको थियो। यो जितसँगै इंग्ल्याण्डले उपाधिका लागि स्पेनसँग सामना गर्नेछ।
आइतबार सिड्नीमा स्पेन र इंग्ल्याण्ड उपाधिका लागि भिड्ने छन्। जसले जिते पनि यो पटक नयाँ टोलीले विश्वकपको ट्रफी उचाल्ने छ। यी दुवै टोली पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।