काठमाडौं– वीर अस्पताल डायरीका अघिल्ला पानाहरुमा उपकरण बिग्रिदा (समयमै नबनाउँदा)/बिगारिँदा बिरामीले पाउने दु:ख प्रस्तुत गरियो। त्यही बहानामा कमाउ धन्दा चलाउने केही डाक्टरको नियत उजागर गरियो। आजको पानामा त्यहाँको प्रणालीमा रहेका कमजोरीले दिने दु:खहरु केलाउने प्रयास गर्नेछु। प्रणालीले गर्दा मेडिकल वार्डमै मृत्युवरण गर्नुपर्ने बाध्यता प्रस्तुत गर्दैछु।
टाइफाइडको बिरामीका लागि गरिने जाँच र पुग्नुपर्ने ठाउँ सिमित हुन्छन्। त्यसैले जति झन्जट अरु गम्भीर समस्या लिएर आउने बिरामीले भोग्छन्, त्यति मैले भोगेको छैन। तर, मेरा भोगाइको आँखीझ्यालबाट नियाल्ने हो भने वीरको प्रणालीमा ठूलो परिवर्तन जरुरी छ।
जस्तो त्यहीँका कर्मचारीले आफ्नै उपचारमा हैरानी खेपेपछि भनेका थिए- आफैंलाई नपरी यहाँको सिस्टम बुझ्न नसकिने रहेछ!
सोमबार बिहानको कुरा हो यो। आइतबार बेलुकी नै आउनुपर्ने आइरन प्रोफाइलको रिपोर्ट सोमबार बिहानसम्म नआएपछि म खोज्दै पुरानो भवनको चौथो तलमा उक्लिएको थिएँ। रिपोर्ट प्रिन्ट गर्ने शाखामा बस्ने कर्मचारीकहाँ आइतबार बेलुकी नै पटक-पटक पुगें। बारकोड दिने ठाउँबाट आइतबार बेलुकी नै 'भेरिफाइ'को क्रममा रहेकाले १० मिनेट कुरेर रिपोर्ट लिन भनिएको थियो। १५ मिनेट कुरें तर आएन र काउन्टर नै बन्द हुने समय हुन थालिसक्यो। डाक्टर राउन्डमा आउने समय घर्किसकेकाले अर्को दिन बिहान लिनेगरी वार्डतिरै लागेँ।
अर्को बिहानसम्म पनि नआएपछि रिपोर्ट प्रिन्ट गर्ने काउन्टरका कर्मचारीले चार तला माथि रहेको कोठाको बाटो पहिल्याइदिएका थिए। उनलाई लाग्यो होला- जरुरी नै भएर यसले पटक-पटक धाइरहेको छ! उनले सुझाए- एकपल्ट पुरानो भवनको चौथो तलामा रहेको ४३८ नम्बर कोठामा बुझिहेर्नु न।
वीर अस्पतालले सेवा ८ बजेदेखि दिन थालेको दोस्रो दिन थियो। त्यसैले कर्मचारी अभ्यस्त थिएनन्। मेरो रिपोर्ट अड्किएको हेर्ने कर्मचारी पुगिनसकेकाले त्यहाँ रहेकी एकजना महिला कर्मचारीले ४३४ मा बुझ्न पठाइन्। त्यहाँस्थित कर्मचारीले भनिन्, 'मैले त हिजै पठाइसकेको। भेरिफाइ भएको छैन कि? म बुझेर आउँछु।'
उनले मार्करले मेरो बिरामीको नामसमेत एउटा कागजमा पछाडि लेखेकी थिइन्। कागजको चाङको माथि नै रहेकाले देखाइहालिन्। सहयोगी स्वभावकी रहिछन्, मेरो कागज लिएर सम्बन्धित शाखामा उनी आफैं बुझ्न गइन्।
त्यही क्रममा एकजना भलाद्मी त्यहाँ आइपुगे। उमेरले ५० को उकालोतिर हिँडिरहेको देखिने उनी पनि मजस्तै रिपोर्ट खोज्न त्यहाँ पुगेका रहेछन्। साँघुरो कोठामा अतिथिका लागि त्यहाँ जम्मा एउटा कुर्सी उपलब्ध थियो। जहाँ म बसिरहेको थिएँ। आफूभन्दा बढी उमेरको मान्छे उभिइरहेको हेर्न सकिनँ। मैले उनीतिर संकेत गर्दै भने - सर बस्नुहोस्।
उनी फरासिला स्वभावका रहेछन्, प्रतिउत्तरमा भने, 'धेरै बसेरै ज्यान यस्तो (उपचार गराउनुपर्ने/मोटो) भयो। तपाईं नै बस्नुहोस्।'
उनले यही क्रममा हैरानी पोखे- आफैंलाई नपरी हाम्रो अस्पतालको सिस्टम बुझ्न नसकिने रहेछ! वीर अस्पतालको उल्झनमाथिको उनको सटिक टिप्पणीले अस्पताल बसुन्जेल मन हल्लाइरह्यो।
अस्पतालमा जे लेखिएको हुन्छ, त्यो समेत प्राप्त नहुने अनेक काउन्टर छन्। बिल तिर्ने काउन्टरमा मैले दुईपल्ट लाइन लाग्नुपरेको छ। जहाँको झ्यालमा लेखिएको छ - वी एसेप्ट फोन पे (हामी फोनबाटै भुक्तानी स्वीकार्छौं)।
त्यही देखेर गोजीमा क्यास नभएपनि रिपोर्टका लागि बिल काट्न आधाघन्टा लाइनमा बसें। काउन्टरमा पुगेपछि कर्मचारीले 'फोन पे' अस्वीकार गरिन्। क्यास नै ल्याउन भनेपछि हतास हुँदै एटिएम खोज्न भौतारिएँ। बाहिर त्यहीँ बैंकको एटिएममा समेत समस्या थियो। त्यसपछि ट्रमा सेन्टरको गेटमा रहेको अर्को बैंकको एटिएमबाट पैसा ल्याएर अर्को आधा घन्टा लाइनमा बसें।
अस्पतालबाहिर ओपिडी टिकट अनलाइनबाट काटिने माइकमा फुक्य्या फुक्यै गरिएको हुन्छ। प्रयोगशाला परीक्षणकै कुरा गर्ने हो भने तेहरो लाइन झेल्नुपर्छ। औसतमा २० मिनेटका दरले एकघन्टा समय त्यहीँ बित्छ। उदाहरणका लागि बिल काट्न २० मिनेट, बारकोड लिन २० मिनेट र परीक्षणका लागि रगत दिन २० मिनेट।
०००
गत मंगलबार वार्डमा नर्सहरुहरुले भने- सवै बिरामी कुरुवा बाहिर जानुपर्ने भयो।
कुरुवामध्येका कसैले प्रतिप्रश्न गरे- किन? नर्सहरुमध्ये एकले भनिन्, 'ठूलो डाक्टर (प्रोफेसर) आउँदैछन्।' हामीमध्येका एकले ठूलो डाक्टर भेट्ने इच्छा जाहेर गरे।
तर, अस्पताल 'सिस्टम'मा उनको केही लागेन। खाना खाने समय परेकाले मैले त्यसलाई अवसरका रुपमा लिएर बाहिरिएँ। त्योबेला ती प्रोफेसर आउन भ्याएनन्। १५ मिनेट कुरुवाले भर्याङ कुरेपछि प्रोफेसर आउन भ्याएनन् भन्ने सुनिएछ। फेरि अर्को समयमा हामी बाहिर निस्किनुपर्यो।
त्यो सिस्टम उनीहरुको हो, हानी नगरुन्जुल चलोस् भन्ने लाग्यो। एकजना बिरामीको त्यही समयमा सिटी स्क्यानको समय रहेछ। बाहिर निस्किनु भन्ने फर्मानका अघि उनको केही चलेन र बाहिरिए। उनी पनि समयको सदुपयोग गर्न खाना खान गएछन्। त्यही बेला उताबाट बिरामी ल्याइदिन भनिएको रहेछ। नर्सले भर्याङतिर खोजेछन्। आफन्त भेटिएनन्। बिरामीको जाँच भएन।
फर्किएर आएपछि ती आफन्तले आफ्नो बिरामीलाई सिटी स्क्यानका लागि लैजान खोजे। तर, लिएको समय घर्किएको भन्दै शुक्रबार मात्रै समय मिल्ने बताइयो। उनीहरुले बाझ्नुसम्म बाझे तर कर्मचारीले समेत नबुझ्ने सिस्टममा उनको जोर चलेन।
०००
त्यसअघि आइतबार एक ९६ वर्षीया महिलाले फिमेल मेडिकल वार्डमै देहत्याग गरिन्। शुक्रबार म पुग्दा त्यहाँ भर्नारत थिइन्। कुनै समय पनि उनको ज्वरो १०२ भन्दा तल झरेन। १०५ सम्म पुगिरहन्थ्यो। श्वासप्रश्वासमा समस्या थियो। उनको अवस्था हेर्दा मेरा सामान्य दृष्टिले आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्न जरुरी लागेको थियो।
चिकित्सकका विशेषज्ञ आँखाले पनि त्यही देख्नुपर्थ्यो भन्ने मेरो बुझाइ थियो र छ। तर, त्यसो गरिएन। वा चिकित्सकले सल्लाह दिएर पनि आफन्तले मानेनन्?
मेरो सामान्य ज्ञानबाट उब्जिएको विचारले भनिरहेको थियो- बिरामी कि इमर्जेन्सीमा उपचार गर्न खोज्दा खोज्दै सम्भव नभएपछि मर्न सक्छ, कि आइसियु वा भेन्टिलेटरमा विज्ञानका खोजले नधानेर!'
अस्पताल पुगेको केही दिनपछि सामान्य वार्डमै बिरामीको मृत्युवरण मैले सामान्य रुपमा लिन सकिनँ। जस्तो अस्पतालको प्रणाली र आफन्तले सामान्य रुपमा लिए। न दोष यहाँ चिकित्सकको हो, न आफन्तको नै। यहाँनेर 'सिस्टम फेल' देखें मैले। बिरामीको अवस्था गम्भीर देख्दा-देख्दै पनि, उल्लेख्य सुधार आएको नेदेखिँदा देखिदै पनि वार्डमै राखेर उपचार गरिने प्रणाली कसरी सही हुन सक्छ? - प्रश्नले आफैंलाई बिझाइरह्यो। ती वृद्धा आँखामा झलझली आइरहेकी छिन् र अहिले पनि मनले प्रश्न गरिरहेको छ- त्यो 'सिस्टम'ले गरेको 'हत्या' थिएन र?
डायरीको अर्को पाना अर्को शृंखलामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।