वीर अस्पतालमा ‘फ्लो साइट्रोलोजी’को मेसिन ‘बिग्रिएको’ बहानामा बिरामीलाई दलालको जिम्मा लगाउने खेलको बेलिविस्तार ‘डायरीको अघिल्लो पाना’मा गरिसकियो। वीरमा बिग्रिएको त्यो एउटा उपकरण मात्रै होइन। मैले बिरामी कुरुवाका रुपमा जाँदा देखिए/भेटिएका अन्य केही उपकरणका बारेमा यहाँ उल्लेख गर्नेछु। आफूले सेवा लिनुपर्ने हरेक ठाउँमा उपकरण बिग्रिएको सुन्दा लाग्दो रहेछ, ‘सद्देचाहिँ के होला यहाँ?’
सुरु गरौं, फार्मेसीको सफ्टवेयर नचलेको अवस्थाबाट।
मंगलबार बिहानको ११ बज्न लाग्दैछ। म वीरको नयाँ भवनको भुइँतलामा औषधि किन्न लाइनमा छु। लाइनमा पाँच मिनेट उभिएपछि हेरेँ- पछाडि मान्छेहरू थपिने क्रम जारी छ, अगाडि घट्ने नामोनिसान छैन। त्यस्तो किन भइरहेको छ? मलाई बुझ्न मन लाग्यो। आफूभन्दा पछाडि लाइनमा उभिएकालाई ‘म यहाँ छु है’ भन्दै अगाडि झ्यालनिर लागेँ। झ्यालमा रहेको भीडको एउटा कुनाबाट चिहाउँदै सोधेँ, ‘किन काम भइरहेको छैन?’
फार्मेसीका कर्मचारीले सुरुमा ‘एकछिनमा हुन्छ’ भने।
तर, मैले केरकार गरेँ, ‘किन नभएको भन्नु न?’
उनको उत्तर थियो, ‘सफ्टवेयर (सर्भर) चलिरहेको छैन।’
प्राविधिक गडबडी हुनु ठूलो विषय होइन। कहिलेकाहीँ त्यस्तो भइहाल्छ! अन्य समयमा भएको भए यस्तै बुझेर म पनि अरु बिरामीका आफन्त जस्तै निजी फार्मेसीतर्फ हिँडिहाल्थें। तर, त्यो समय फार्मेसीका लागि ‘प्राइम टाइम’ रहेको मैले अस्पताल बसाइका क्रममा महसुस गरेको थिएँ।
वार्डमा भर्नारत बिरामीका आफन्तले औषधि लेखिएको कागज पाउने समय १०:१५ देखि १२ बज्नुअघिसम्म हो। किनभने चिकित्सकले बिहानको ‘राउन्ड’ यसअघि गर्छन् र अवस्थाअनुसार भर्ना फाइलमा औषधि सिफारिस गर्छन्। त्यो औषधि कागजमा उतार्न नर्सलाई केही समय लाग्छ। १२ बजेअघि नै बिरामी कुरुवाले औषधि ल्याइसक्नुपर्छ। किनकि भर्नारत बिरामीले खानापछि खाने बिहानका औषधि १२ बजे खुवाउने प्रचलन छ।
सामान्यतया: ओपीडीमा चाप हुने समय पनि बिहान १० बजेपछिका दुई/तीन घन्टा हो। त्यसैले ११ बजे आसपासको समय अस्पतालको फार्मेसीमा असाध्यै भीड हुन्छ। त्यहीबेला फार्मेसीको सफ्टवेयरमा गडबडी आउने संयोगलाई सामान्य रुपमै लिँदा पनि भइहाल्थ्यो। तर, एक ठाउँ गडबड लागेपछि अन्यत्र पनि शंका जाग्ने रहेछ। मनमा प्रश्न जाग्यो, ‘यो सफ्टवेयरले ११ बजेकै आसपास पारेर किन बिग्रिनुपरेको?’
हतार भएकाहरू, जरुरी परिहालेकाहरू र लाइन बस्न झिंजो मान्नेहरू त्यहाँबाट फटाफट बाहिरिन थाले। १२ बजेसम्म औषधि वार्डमा पुर्याए हुने जानिसकेको मलाई सफ्टवेयर बनेको हेरेरै जाने इच्छा जाग्यो। त्यसैले मैले कुरेँ। बेला-बेला गएर सोधिरहेँ। ११ बज्नुअघि कतिबेला बिग्रियो थाहा पाइएन, ११ बजेपछि भने बन्न झन्डै २० मिनेट लाग्यो। त्यहाँ कुरिरहेकाहरू भने आधा घन्टा भन्दा बढी सफ्टवेयर चलेन भन्थे। त्यति समयमा सेवा बढीमा १५ देखि २० जनाले पाउँथे होलान्। तर, सफ्टवेयर बिग्रिएको सुनेर बाहिर जानेको संख्या भने कम्तिमा ५० भन्दा बढी भयो होला। त्यो दिन मैले ४८ मिनेट धैर्य गरेपछि औषधि पाएँ।
वीरको फार्मेसीमा पाइनेभन्दा नपाइने औषधिकै सूची लामो होला। ‘पाइँदैन’ भनेर मार्करले संकेत गरेका औषधिको सूची लामो हुने भएपछि बिरामीका आफन्तहरू लाइनमा बस्नु पहिले झ्यालमा चिट देखाएर सोध्छन्, ‘यो औषधि यहाँ पाइन्छ?’ त्यसको जवाफ पाउन पनि समय नै लाग्छ। किनकि त्यो झ्यालमा बिल बनाउने एकजना हुन्छन् र जोसँग बिल बनाउनै भ्याइनभ्याइ हुन्छ। त्यहाँ औषधि किनिरहेको पाँच दिनमा मलाई लाग्यो, ‘चाहिने औषधिको संख्या थपेर निजी फार्मेसीको व्यापार घटाउनतिर अस्पतालका हाकिमसाबलाई के जाँगर चल्ला? बरु ‘औषधि सोधपुछ’ भनेर छुट्टै एउटा काउन्टर खोलिदिएको भए सहज हुन्थ्यो कि?’
त्यस्तो काउन्टर खोल्दा एउटा निकटस्थलाई रोजगारी दिन पनि सहज हुन्छ। यसै पनि वीरमा ‘हाकिमहरू’का मान्छेको रजगज देखिन्छ।
अघिल्लो दिन (सोमबार) मेरो छिमेकी बेडमा रहेकी एकजना बुढीआमैको सिटी स्क्यानको रिपोर्ट लिन त्यही फार्मेसीको छेउमा रहेको काउन्टरमा पुगेको थिएँ। अघिल्लै दिन गरिएको भएर उनको रिपोर्ट पाइयो। मैले रिपोर्ट लिइरहेको समय सोमबार दिउँसो २:३८ बजेको थियो। त्यो रिपोर्ट लिइरहँदा एकजना महिला सिटी स्क्यानबारे बुझ्न आइपुगिन्। ओपिडी कार्ड हेर्दै काउन्टरमा बस्नेले उनको मोटोपनमाथि मजाक गरे, ‘तपाईंलाई त तौल घटाउन पो भनिएको रहेछ!’ ती महिलाले ठट्टाकै रुपमा बुझिन् र सिटी स्क्यान गर्न चिकित्सकले सिफारिस गरेको समेत हेर्न संकेत गरिन्।
त्यसपछि उताबाट जवाफ आयो, ‘सिटी स्क्यानको प्रिन्टर बिग्रिएको छ।’ भोलिपल्ट (मंगलबार) मेरै बिरामीको विपरीत दिशामा रहेको बेडको बिरामी भेट्न २ जना आइपुगेका थिए। उनीहरूले सिटी स्क्यानका लागि समय पनि लिएका रहेछन्। बिग्रिएको जानकारी दिइएपछि ‘कत्रो काम छाडेर आइयो’ भन्दै निराश भएर फर्किए।
दुई दिनसम्म सिटी स्क्यानको प्रिन्टर नबनेको सुनेपछि थप बुझ्न मन लाग्यो। अस्पतालमै रहेका चिनजानका एक कर्मचारीसँग आफ्नै आफन्तको भएकाले बुझिदनि आग्रह गरेँ। उनले ‘तपाईंकै बिरामीको हो भने ल्याएर आइहाल्नू’ भने। त्यसपछि थाहा पाइयो, अर्को सिटी स्क्यान मेसिन पनि रहेछ। उता बिग्रिँदा त्यसबाट सेवा लिन सकिने रहेछ। तर, बिरामीलाई भने बिग्रिएको जानकारी दिइन्छ, अर्को पनि रहेकोबारे उल्लेख गरिँदैन। समय पहिल्यै लिएका दु:ख पाइरहन्छन्, समय नलिएकाहरु निजीमा पुगेर महंगो तिर्ने बाध्य हुन्छन्।
०००
मेरो बिरामी पुरानो बिल्डिङस्थित दोस्रो तलामा रहेको फिमेल मेडिकल वार्डमा राखिएको थियो। तेस्रो तलासम्ममा बिरामीलाई राखिने गरिन्छ। बिरामीलाई तलमाथि गर्न मात्रै होइन, खाना समेत ल्याउने त्यही लिफ्टबाट गरिन्थ्यो। त्यो आइतबारदेखि लिफ्ट बिग्रियो। मंगलबार बेलुकी म घर फर्किँदासम्म बनिसकेको थिएन। सोमबार बिहानै प्रशासनलाई जानकारी गराउँदा पनि उचित ‘रेस्पोन्स’ भएन। (बुधबार बनाइएको जानकारी अस्पताल निर्देशक डा सन्तोष पौडेलले दिएका छन्।)
त्यो लिफ्ट नबन्दा बिरामीहरूले दु:ख पाए। त्यसमध्ये एकजना जन्डिसको लक्षण देखिएकी, तर असाध्यै थलिएकी महिलालाई अन्तै सिफ्ट गर्नुपर्ने भयो। बिरामीका कुरुवा महिला मात्रै थिए, ओसार्न लिफ्ट थिएन। त्यसपछि त्यहाँ उपलब्ध अन्य बिरामीका ६ जना कुरुवाहरूको सहयोगमा बोकेर सिफ्ट गर्नुपर्यो । बिरामीले खाना लिन माथिल्लो तलाबाट पहिलो तलामै झर्नुपर्यो।
एकजना किशोरले आमालाई उपचारका लागि त्यही वार्डमा भर्ना गरेका थिए। उनी आफैं कुरुवा थिए, जसको एउटा खुट्टाले त्यति भर दिँदैनथ्यो। घरी रिपोर्टको बिल काट्न, घरी रिपोर्ट लिन, घरी औषधि लिन ओहोरदोहोर त गर्नैपर्यो। एकदिन उनी नर्सका अगाडि डाँकै छाडेर रोए। उनको भनाइ थियो, ‘लिफ्ट पनि चलेको छैन। ल्याउनुपर्ने औषधि र गर्नुपर्ने जाँच एकैपटक गराइदिनुभए सहज हुन्थ्यो।’
म आफैं बिरामी कुरुवा थिएँ। त्यसैले बिरामीका लागि धेरै समय दिनुपर्ने नै भयो। अन्य कहाँ-कहाँ के बिग्रिएका छन् भनेर सोधखोज गर्ने समय प्राप्त भएन। जहाँ पुगें, त्यहीँ बिग्रिएको सुन्न थालियो। मलाई अस्पताल रहुन्जेल लागिरह्यो, ‘यहाँ सद्देचाहिँ के होला?’
डायरीको अर्को पाना क्रमश...
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।