नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै एक वर्षपछि सम्पन्न भएको छ। बैठकलाई कांग्रेसले पहिलो पटक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेर चर्चा समेत बटुल्यो। भर्खर सम्पन्न केन्द्रीय समितिको बैठक र यसले दिएका सन्देशका विषयमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानीः
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भर्खरै सम्पन्न भयो। बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने आवश्यकता किन पर्यो?
नेपाली कांग्रेस नेता, कार्यकर्ता, मतदाता, शुभेच्छुक मात्र नभई सम्पूर्ण नेपाली जनताले आशा गरेको पार्टी हो। लामो समय बैठक बस्न नसक्दा यो पार्टी कतै सुत्यो कि, बाटो बिराउँदै छ कि वा नेतृत्वमाथि भइरहेका टीकाटिप्पणी साँच्चै पो हो कि? भन्ने आशंका सबैमा थियो। अब यो पार्टीले केही गर्न सक्दैन भन्ने भन्ने एक खालको संसय पनि थियो। यस्ता आशंका र संसयलाई चिर्न के गर्ने त? भन्दा नेपाली जनतालाई छर्लंग हुने गरी बुझाउनु जरुरी थियो। त्यसैले जनतालाई सत्यतथ्य बुझाउनका लागि बैठक बसौं भन्ने निर्णय पदाधिकारी बैठकबाटै भएको हो। त्यसपछि हाम्रा सभापतिले बैठकको प्रत्यक्ष प्रसारण गर्ने तत्परता देखाउनुभएको हो ।
प्रत्यक्ष प्रसारणका कारण प्रत्येक नागरिकले आफ्नो मोबाइलबाटै कांग्रेस पार्टीका कुरा प्रत्यक्ष हेर्ने र अवलोकन गर्ने मौका पाएका छन्। कांग्रेसमा के कसरी छलफल, बहस हुन्छ, कस्ता–कस्ता विषय उठान हुन्छन् भन्ने कुरा नयाँ पुस्ताले पनि थाहा पाउने मौका पायो। यो अरु पार्टीहरुका लागि सिकाइ हो भने हाम्रा लागि उपलब्धि हो।
बैठक एकले अर्कालाई खुइल्याउने र आरोप/प्रत्यारोपमा केन्द्रित देखियो। गरिबी, बेरोजगारी, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य जस्ता जनचासोका विषयमा खासै आवाज उठेको पाइएन नि!
समयको पाउबन्दीका कारण एक जना केन्द्रीय सदस्यले सात मिनेटमै आफ्नो भनाइ राखिसक्नुपर्ने अवस्था थियो। त्यसमा पार्टीको बैठक भएको हुनाले राजनीतिक कुरा त बढी हुने नै भए। तैपनि, अधिकतम साथीहरुले यस्ता जनचासोका विषय उठाउनु भएको छ। मधेसका ट्युबेलमा पानी नआउने कुरा मधस प्रदेशका साथीहरुले उठाउनुभयो। कोशी प्रदेशका साथीहरुले बाढी–पहिरोको कुरा उठाउनुभयो। पश्चिममा पानी नपरेर रोपाइँ नभएको कुरा उठ्यो। पहाडी जिल्लाहरुमा बाढी–पहिरोका कारण भत्किएका बाटोघाटोका कुरा उठाउनुभयो।
शिक्षा, स्वास्थ्य र महँगीका विषय पनि प्राथमिकताका साथ उठेका छन् बैठकमा। राजनीतिक विषयमा अलि चर्काचर्की हुने भएकाले बाहिर त्यसको प्रचारप्रसार बढी भयो। जनजीविकाका सवालमा प्रतिवाद गर्न नपर्ने भएकाले त्यो सरल रुपमा स्वीकारिएको हो। अभिव्यक्तिमा के आयो भन्दा पनि १८ वटा निर्णयमध्ये एक नम्बर बुँदामा गरिएको निर्णयमा त १५ वटा जनतासँग प्रत्यक्ष सरोकार राख्ने र सरकारले सेवा प्रदान गर्ने विषयमा केन्द्रित भएका छौं नि।
केन्द्रीय समिति बैठक जस्तै कांग्रेसका अन्य बैठकहरु पनि लाइभ हुन्छन् कि हुँदैनन् भन्नेमा मान्छेहरुको चासो छ। खासगरी टिकट वितरण गर्दाको बैठक लाइभ हुन्छ कि हुँदैन?
मलाई के लाग्छ भने, लाइभ गर्यो भने साँच्चै पार्टी ट्र्याकमा जाने रहेछ। विधिसम्मत अनि व्यवस्थित ढंगबाट बैठक सञ्चालन हुने रहेछ। लामो पनि नहुने रहेछ। यस पटक हामीले लाइभ नगरेको भए बैठक लम्बिन पनि सक्थ्यो। किनभने, साथीहरुले माइक छोड्नु हुन्नथ्यो होला। वादविवाद गर्नुहुन्थ्यो होला। एक जना उठिसकेपछि अर्काेले प्रतिवाद गर्नुहुन्थ्यो होला। त्यसकारण लाइभ गर्दा बैठक व्यवस्थित र मर्यादित भयो।
अब हुने बैठकहरु लाइभ गर्ने कि नगर्ने भन्ने आवश्यकताका आधारमा तय होला। तर यो बैठकको सन्देश र उपलब्धिलाई हेर्दा आगामी बैठकहरु पनि प्रत्यक्ष प्रसारण गर्नुपर्ने देखिन्छ। अर्को कुरा, अरु पार्टीले समेत हामीलाई पछ्याएर गइसकेको अवस्थामा त हामीले छोड्नै मिल्दैन।
बैठक लाइभ गर्नु बाहेक अन्य उपलब्धि के भयो?
नेपाली कांग्रेस स्थानीय, प्रदेश र केन्द्रसम्मै पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेसका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा समर्थकको मनोबल खस्कियो भन्ने हाम्रो चिन्ता थियो। यो बैठकले त्यसको पहिचान दिलायो। प्रतिस्पर्धामा पछि परेका केही नेता साथीहरुले अहिलेको नेतृत्वलाई आलोचना गर्दा पार्टीलाई नै आघात पर्ने गरी पार्टी नै सकियो भन्ने रहेछन्। नेतृत्वलाई दोष लगाउनका लागि पार्टी सकियो भन्ने? नेतृत्वलाई दोष लगाउनका लागि पार्टी सिथिल भयो, अब यो पार्टीको काम छैन भनेर दिइने नकारात्मक अभिव्यक्तिले सिंगो पार्टीलाई साँच्चै नोक्सान पुगेको रहेछ भन्ने कुराको पहिचान भएको छ। ती साथीहरुले बैठकबाट नेतृत्वको दोष रहेनछ। कांग्रेसकै केही नेताले गलत प्रचार गरेका कारण कांग्रेस कमजोर भएको रहेछ भन्ने बुझे। नियमित बैठक नबसेका कारण पनि पार्टी गतशील नभएको रहेछ भन्ने बुझियो।
विधान बमोजिम सबै काम गर्दै गयो, नियमित बैठक बस्दै गयो, कमिटीहरु पूरा गर्दै गयो भने कांग्रेस अरु पार्टीभन्दा कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश पनि यो बैठकबाट गएको छ।
पार्टीलाई सुधार गर्नुपर्छ भन्नु नै कांग्रेसको समस्या हो त?
सुधार त हरेक व्यक्तिले गर्नुपर्छ। एउटा सैद्धान्तिक कुरा भन्छु, विश्वकपमा सबैभन्दा बढी मिहिनेत ब्राजिल, जर्मनी, अर्जेन्टिनाले गर्नुपर्छ। किनभने, उनीहरु विश्वकपका मुख्य दावेदार हुन्। हारिएला कि भन्ने डर उनीहरुलाई बढी हुन्छ। अरु देशहरुले विगतको भन्दा अलिकति सुधारे पुग्छ। तर प्रथम हुनेले बढी मिहिनेत गर्नुपर्छ। यहाँ पनि मुलुकको हरेक परिवर्तनको वाहक कांग्रेस भएको हुनाले सबैभन्दा बढी मिहिनेत पनि कांग्रेसले नै गर्नुपर्छ। तर सिंगो नेतृत्वले गर्नुपर्छ। सबै मिलेर पार्टी सुधार्नुपर्छ। कांग्रेस त दैनिक सुधार हुनुपर्छ। दैनिक सुदृढ हुनुपर्छ। दैनिक आफ्नो रेकर्ड आफंै ब्रेक गर्नुपर्छ।
हिजोका कुराको ब्याज खाएर कांग्रेस कति समय चल्छ? अबको बाटो के हो?
हिजोको कुरा भनेर अब चल्दैन भन्ने भाष्य जो छ, त्यो हिजो केही नगरेकाहरुले बनाएको हो। तपाईंलाई म स्मरण गराउँ। २५ वर्षको कुनै व्यक्ति बैंकको म्यानेजर भएर आयो भने उसले ऋण दिँदा के भन्छ? तीन वर्षको अडिट रिपोर्ट ल्याउ भन्छ होइन? लालपुर्जा ल्याउ भन्छ। केटाकेटीलाई ऋण दिँदैन। बाबु–आमालाई सनाखत गराउँछ। त्यो भनेको त विगत हेरेर दिएको हो नि त।
जसको विगत छैन ऊ आगतका कुरा गर्छ र भविष्यका कुरा गर्छ। जसले काम गर्छ उसको त विगत बन्दै जान्छ नि। जसले पास गर्दै गयो त्यसको विगत बन्दै जान्छ। जो फेल हुन्छ एउटै कक्षामा बस्छ, उसको विगत नै हुँदैन। नेपाली कांग्रेसले ७०/७५ वर्षको अवधिमा धेरै काम गरेको हुनाले यसको विगत ज्यादा छ। यो पार्टी जहिल्यै प्रथम भएको हुनाले हरमिनेट, हरसेकेन्ड आफूलाई परिवर्तन गरिरहनै पर्छ। गर्छ पनि, गर्दै आएको पनि छ।
कांग्रेस जनताको पार्टी भएकोले जनचाहना अनुसार हिँड्नु नै कांग्रेसको अबको बाटो हो। हामी नेपाली कांग्रेसले चाहेको बहुदलीय, संसदीय शासन प्रणालीमा छौं। समाजवादी अर्थनीति, समाजवाद उन्मुख संविधान जारी गरेका छौं। त्यो पनि हाम्रै नेतृत्वमा बनेको हो। कम्युनिष्ट पार्टीहरुले भन्न सक्छन्, जनवाद आएपछि सुख हुन्छ भनेर। एक युग उनीहरुले आश्वासन बाँड्न सक्छन्। राजावादीहरुले राजा फर्केर आएपछि सबै ठिकठाक हुन्छ भन्न सक्छन्। एक युग फेरि उनीहरुले ढाँट्न सक्छन्। नयाँ पार्टीले यी सबै काम नलाग्ने हुन् भनेर एक चुनाव झुक्याउन सक्छन्। तर नेपाली कांग्रेसले जे बोल्छ, त्यही गर्छ।
त्यसैले अहिले हामीले बोल्ने भनेको सुशासन र समृद्धि हो। सुशासन भनेको भ्रष्टाचारको अन्त्य हो। सुशासन भनेको जनता खुसी हुने गरी सेवा प्रदान गर्ने हो। विना झन्झट, सर्वसुलभ, समयमा सेवा प्रदान गर्न सक्नु हो। नेपालीको क्षमता अनुसारको समन्यायिक अर्थ प्रणाली लागू गर्नु हो। सँगसँगै समाजवादी अर्थ प्रणाली लागू गर्ने भनेको सामाजिक सुरक्षाको क्षेत्रमा ज्यादा खर्च गर्ने हो। त्यो कुरा पूरा गर्नका लागि राज्यको ढुकुटी बलियो हुनुपर्छ। त्यसका लागि राज्यको आयस्रोतको दायरा फराकिलो हुनुपर्छ। त्यो गर्नका लागि लगानी मैत्री वातावरण बनाउने र उत्पादनको क्षेत्र फराकिलो बनाउने हो।
जबसम्म नागरिकले सुख र समृद्धि महसुस गर्दैनन् तबसम्म हामीले जुनसुकै व्यवस्था ल्याए पनि चुनौती पूर्ण नै हुन्छ भन्ने हामीले बुझेका छौं।
कांग्रेस सरकारको मूल नेतृत्वमै छ। नागरिकले किन सुख र समृद्धि अनुभूत गर्न पाइरहेका छैनन त?
त्यही भएर हामीले १५ बुँदामा सरकारको ध्यानाकर्षण गराएका छौं। सरकारले गरेँ भनेको कुरा जनताले अनुभूति गर्न पाएका छैनन् है भनेका छौं। सरकारले सुशासन दिन कोसिस गरेका छौं भन्या छ। पासपोर्टको लागिक अहिले पनि लाइन बस्न परेको छ। ड्राइभिङ लाइसेन्स प्रक्रिया पूरा गरेर पास गरेको छ। तर ण्लाइसेन्स कहिले आउँछ भन्नेमा निश्चित हुँदैन। राष्ट्रिय परिचयपत्र, पासपोर्ट लिन पनि प्रतीक्षा गर्नुपर्छ। राज्यले शुल्क लिएर दिने सेवा–सुविधामा त बिलम्व भइरहेको छ भने निःशुल्क प्रदान गर्ने सेवामा राज्यले के गर्ला? त्यसैले हामीले सरकारको ध्यानाकर्षण गराएका हौं।
भ्रष्टाचारसँग जोडिएका वा अन्य आरोपित व्यक्तिप्रति नरम हुने पार्टीको रुपमा पनि छवि निर्माण हुँदै गएको छ। कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको बचाउका लागि पनि थुप्रै केन्द्रीय सदस्यहरु देखिनुभयो। उहाँको विषयमा पार्टीले निर्णय नगरी मौन देखियो। आम मान्छेसँग भेट्दा यस्तो छविले प्रभाव पार्दैन?
पहिलो कुरा त कहिलेकाहीँ आधा बुझेर, नबुझेर वा पूर्वाग्रही रुपमा बुझेर समस्या हुन्छ। मुल कुरा कांग्रेस भनेको भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने पार्टी हो। कोही भ्रष्टाचारी नछुटून्। कोही पनि निर्दोष नफसून्। त्यसका लागि निष्पक्ष न्यायिक निरुपणमा जोड दिएका छौं। त्यहाँ दबाब र प्रभाव पर्नु हुँदैन।
बालकृष्ण खाण पहिलो पटक आफैं जानु भयो नि त। म पनि गृहमन्त्री भएको हो। मेरो पालामा केही भएको छ भने म सहयोग गर्न तत्पर छु। म फलानो ठाउँमा बस्छु है। म डेरामा बस्छु भनेर आफैं जानु भएको हो नि। तर सँगसँगै अर्काे कुनै पार्टीका नेता चाहिँ काठमाडौं आउँदैछु भनेर फरार हुनुभयो। फरार हुँदा उहाँ बहालवाला सांसद हुनुहुन्थ्यो। उहाँसँग सांसदको परिचयपत्र, पासपोर्ट हुन सक्छ। पदीय दुरुपयोग हुन सक्छ। उहाँले फरार भएर आधा अभियोग स्वीकार पनि गर्नुभयो। पार्टीले निलम्बन पनि गर्यो। सांसदबाट पनि निलम्बन हुनुभयो।
बालकृष्ण खाण सांसद हुनुहुन्नथ्यो। उहाँ कांग्रेसको सदस्य मात्रै हो। १७६ मध्ये एक हो। उहाँलाई लागेको अभियोगमा कांग्रेसले कहीँ पनि बेठिक भनेको छैन। ठिक पनि भनेको छैन। छानबिन नगर पनि भनेको छैन। छिटो गर पनि भनेको छैन। बरु हाम्रा पार्टीका केही नेताहरुले छिटो गर, पक्राउ गर, थुन पनि भन्नुभयो। त्यो चाहिँ आग्रह देखियो। अरु कसैलाई भन्नु भएन। हाम्रा पार्टीका नेताहरुको नाम आइरहेको छ। किन नपक्रिने? भनेर भन्न जानु भयो। त्यो चाहिँ दुराग्रह, पूर्वाग्रह देखियो।
तर सिंगो पार्टी दुराग्रह, पूर्वाग्रहमा छैन। उहाँमाथि छानबिन भइराखेको छ। पुर्पक्षका लागि थुनामा राखिएको छ। अब नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दालाई कांग्रेसको अजेण्डा बनायो भने बालकृष्ण खाणकोमा मात्रै बनाउने कि अरु पार्टीकाको पनि बनाउने? कांग्रेस भित्रका अरु व्यक्तिको पनि बनाउने कि? समग्र राजनीतिक व्यक्तिको बनाउने कि? समग्र कर्मचारीतन्त्रका व्यक्ति पनि छन्। केही सचिवहरु समेत थुनिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका व्यक्तिको नाम समेत मुछिएको छ। त्यसैले अदालतमा विचाराधीन मुद्दामा छलफल गर्दा हामीले निर्णय त एस र नोमा गर्नुपर्छ।
बैठकमा सभापति शेरबहादुर देउवाको निकै प्रशंसा भयो। अर्काेतर्फ महामन्त्रीमाथि निकै कटाक्ष पनि भयो। कतिपय लेखक, विश्लेषकले त कांग्रेस बैठकलाई भारदारी सभाको संज्ञा समेत दिए। कांग्रेसमा आलोचनात्मक चेत हराउँदै गयो भन्ने पनि टिप्पणी छ नि?
तीन खाले मान्छे हुन्छन् समाजमा। एउटा जे भेटे पनि आलोचना गर्ने। एउटा जे भेटे पनि समर्थन गरिहाल्ने। अर्काेथरी भने आलोचना र प्रशंसाको बीचबाट संश्लेषण गर्ने। हामी चाहन्छांै संश्लेषण होस्। मैले पनि त्यही कारण बैठक लाइभ गर्नुपर्छ भनेको थिएँ। त्यहाँ संश्लेषण हुन्छ भनेर हो। कांग्रेसका राम्रा पक्ष पनि भनिदेलान्। नराम्रा पक्ष पनि भनिदेलान् भनेर हो। तर केही लेखक, सञ्चारकर्मीले समेत आग्रह र पूर्वाग्रह रुपमा लेखेको देखें।
एकथरीले सभापतिको प्रशंसा मात्रै भएको देख्नुभयो। एकथरीले महामन्त्रीद्वयको आलोचना मात्रै भएको देख्नुभयो। त्यहाँ भएको चाहिँ एक वर्षमा सबैभन्दा बर्बादीको कारण सभापति नै हो भन्ने आरोप थियो। सभापतिले के हिम्मत गर्नुभयो भने, म हो कि को हो हेरौं न त भन्ने कुरा छ्याङ्गै राखिदिनुभयो। त्यसमा बैठक नबसेको कारण पनि आयो। बैठक नबसेको कारण थाहा पाउँदापाउँदै पनि बैठक नबोलाएका कारण सभापतिलाई गाली गर्ने साथी पनि त्यहीँ देखिनुभयो। त्यसमा उहाँले प्रतिवाद गर्न सक्नु भएन। त्यस कारण अरुलाई सात मिनेट, महामन्त्रीलाई त अनलिमिटेड टाइम दिनुभएको थियो नि त। उहाँहरुले त जति पनि बोल्न पाउने थियो नि त। त्यसको प्रस्ताव पनि महामन्त्रीले नै राख्नु भयो। र, निर्णय पनि महामन्त्रीले नै सुनाउनुभयो। तर बाहिर के हल्ला थियो भने, सभापति एकलौटी गर्नुहुन्छ। मनोमानी गर्नुहुन्छ।
विधानले नै तोकेका कुरा पनि कतिपय सभापतिले पूरा गर्नुभएन। विभागहरु अझै गठन हुन सकेका छैनन्। एक जना व्यक्तिले सिंगो विभाग र भ्रातृ संगठन तदर्थले चलाइराखेको छ। किन यस्तो भयो?
विभागहरु त तदर्थमै हुने हो। तर भ्रातृ संगठनहरुलाई समेत तदर्थमा लैजानु हुँदैनथ्यो। त्यस विषयमा कुरा उठ्दा सभापतिले विधान अनुसार अक्षरस पालना गर्नुभयो भने पार्टी एक ठाउँमा रहँदैन। किन रहँदैन भने बहुमत र अल्पमतको हुन्छ। सभापतिसँग अत्यधिक बहुमत छ। सभापतिसँग संसद्मा पनि ८०/८२ प्रतिशत बहुमत छ। केन्द्रीय कार्यसमितिमा पनि अनेपेक्षित बहुमत छ।
जब त्यस्तो बेलामा सभापतिले निर्णायार्थ प्रस्तुत गर्नुहुन्छ, त्यो बेला अल्पमतलाई पेलियो भनेर गुनासो गर्नुहोला। बैठकमा आक्रोश व्यक्त गर्नुहोला। तेस्रो बैठकमा त बहिर्गमन नै हुन सक्छ। त्यस कारण सबैको सहमति बनाएर लैजाउँ, पार्टीमाथि चौतर्फी आक्रमण छ। यस्तो अवस्थामा साथीहरु मिलेर जाऔं। त्यस कारण भ्रातृ संगठन गठन गर्दा पदाधिकारी मात्रै नभई पूर्व पदाधिकारीलाई समेत बोलाएर सोध्नुभएको छ। विभाग गठन हुँदा समेत सबैलाई सोध्नुभएको छ। पदाधिकारी साथीहरु मलाई सहयोग गर्नुहोस्। मलाई लिस्ट बनाएर दिनुहोस् भनेको आज डेढ वर्ष भयो। कसैले पनि गर्नुभएको छैन।
सभापतिले त आदेश गर्ने हो। आदेश र निर्देशनको पालना पदाधिकारीले गर्ने हो। हामीले समर्थन, पालना गर्नुपर्ने हो। त्यो हामीबाटै भएको छैन। त्यसैले सभापतिले मात्रै गर्नुभएन भन्ने जुन भाष्य निर्माण भएको छ। त्यो चाहिँ यो बैठकले सर्लक्क उल्ट्याएर हैन रहेछ है, पदाधिकारीहरुबाटै यो कुरामा ढिलासुस्ती भएको हो भन्ने निष्कर्ष निस्केको छ। अब भदौ १५ गते भित्र गरिसक्ने कुरा महामन्त्रीद्वयले नै कमिटमेन्ट गर्नुभएको र निर्णय नै सुनाइसक्नुभएको छ।
तपाईंहरुले पहिले नीति महाधिवेशन गर्ने भन्नुभयो। निर्णय पनि गर्नुभयो। तर अहिले आएर नीति महाधिवेशन नगर्ने, एकै चोटी महासमिति बैठक बोलाउने भनेर पनि निर्णय गर्नुभयो। नीति महाधिवेशनप्रति तपाईंहरुलाई किन एलर्जी भएको?
१४औं महाधिवेशनको संघारमा हामीले रहर लागेरै उत्साहका साथ नीति महाधिवेशन भनेका हौं। महाधिवेशनको दुई वटा काम हुन्छ। नीति–नेतृत्व र संगठनको ढाँचा। एउटा पार्टीको नीति के हुने, नेतृत्व कस्तो हुने र अर्को संगठनको ढाँचा कस्तो हुने भन्ने कुरा पास गर्नुपर्छ। तर महाधिवेशन भन्ने वित्तिकै वडा अधिवेशनदेखि नै नेतृत्वका लागि होडबाजी गर्ने, दौडधुप गर्ने, नीतिका बारेमा केही पनि छलफल नगर्ने भएपछि हामीले यसलाई छुट्याउ भनेका हौं।
नीति र नेतृत्वको महाधिवेशन छुट्याउँ। एउटा नेतृत्व चयन गर्ने महाधिवेशन गरौं। त्यो नेतृत्व आइसकेपछि नीति महाधिवेशन गरौं। र, नयाँ नीति कायम गरेर जाऔं भन्नेमा सहमति भयौं। यो नै सर्वस्वीकार्य बन्यो। विधानमा त्यो व्यवस्था गरिराखिको छ। नीति महाधिवेशन छुट्टै हुनेछ भन्ने व्यवस्था भएन। आवश्यकता अनुसार पार्टीको निर्णय अनुसार फरकफरक मितिमा फरकफरक महाधिवेशन गर्न सकिनेछ भनेर लेखेका छौं। अब नीति महाधिवेशन गर्ने कि नगर्नेभन्दा विधानमा प्रत्येक वर्ष महासमितिको बैठक बोलाइनेछ भनिएको छ।
अब हाम्रो समय एक वर्ष बितिसक्यो। नीति महाधिवेशन गर्ने भन्ने सन्दर्भमा महासमितिको समय पनि जुध्यो। अब त्यसका लागि हामीले दुई वटा कुरा छान्न पर्ने भयो। नीति महाधिवेशन छान्ने कि महासमिति छान्ने? भनेपछि महासमितिको बैठक पनि गर्नैपर्छ। नीति महाधिवेशन पनि गर्नैपर्छ। त्यसो भए नीति महाधिवेशनले महासमितिको कुरा बोक्छ कि बोग्दैन? महासमितिको बैठकको भार चाहिँ नीति महाधिवेशनले गर्छ कि गर्दैन त? भन्दा गर्दैन।
त्यसो भए नीति महाधिवेशनले गर्ने भनेको काम महासमितिले गर्छ कि गर्दैन त भन्दा त्यो चाहिँ गर्दोरहेछ। महासमितिको बैठक प्रत्येक वर्ष बस्नेछ र महासमितिको बैठकले महाधिवेशन नभएको अवस्थामा महाधिवेशनले गर्ने सबै काम गर्नेछ भन्ने कुरा विधानमा छ। त्यसो भएको हुनाले महासमितिको बैठक उपयुक्त छ। खर्चका दृष्टिकोणले, समयमा दृष्टिकोणले, सहभागिताको दृष्टिकोणले उद्देश्य र आवश्यकताको दृष्टिकोणले महासमिति उपयुक्त छ भन्ने निष्कर्ष बैठकबाटै आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।