काठमाडौं–कथाकार रेणुका जिसीले नेपाली साहित्य क्षेत्रमा नयाँ कोसेली ल्याइन्– ‘सनेस’। उनको यो पहिलो कथासंग्रह हो। रौतहटमा बसेर साहित्य साधना गर्ने रेणुका पेसाले शिक्षक हुन्। ‘सनेस’मा १२ वटा कथाहरू छन्। ती कथामा पहाड र मधेशको जनजीवनको स्वाद बरोबर पाइन्छन्। पहाड मधेशको फरक जीवनशैली र संघर्षलाई आफ्ना कथामा उनले नजिकबाट उतारेकी छन्। उनै कथाकार जिसीसँग नयाँ कथासंग्रह र उनको सिर्जनामाथि रहेर नेपाल लाइभले गरेको संवाद:
तपाईंका कथासंग्रहमा पहाड र मधेशका जनजीवनका कथा समेटिएका छन्। दुई फरक परिवेशका कथा लेख्न सजिलो थियो?
एउटै कथामा दुई परिवेशलाई समेटिएको छ। कथा मधेशबाट सुरु हुन्छ, बीचमा पहाड आउँछ। पहाडबाट सुरु हुन्छ बीचमा मधेश आउँछ। कुनै कथा मधेशसँग मात्र सम्बन्धित छन्।
कुनै मधेशसँग मात्र सम्बन्धित छन्। पर्वत म जन्मेर हुर्केको ठाउँ हो। मधेश पछि विवाह गरेर गएको ठाउँ हो। यो १० वर्षमा मैले मधेशको समाजलाई नजिकबाट नियालेकी छु। मधेशमा भेटिएको पात्र मैले छोडेर आएको पात्रसँग मिल्न जाने रहेछ।
आखिर भूगोल फरक भए पनि मान्छेका दु:ख भोगाइ एउटै हुने रहेछन् भने ती कथा लेखिनुपर्छ भन्ने लागेर लेखेँ।
तपाईंले पहाडमा छाडेर आएको पात्र मधेशमा पनि भेट्नुभयो। उसोभए ती पात्रको समानता र फरकचाहिँ के हुँदा रहेछन्?
हामी हुर्कँदा नै मधेश, पहाड र मधेशबिचको अन्तरलाई जस्तो गलत व्याख्या गरियो, त्यही सिक्यौँ।
म पनि मधेशसँग अपरिचित थिएँ। मधेश भनेको डरलाग्दो ठाउँ हो भन्ने मानसिकता बनाइएको थियो। जब म त्यहाँ गएँ, मैले आफ्नोपन भेटेँ। सँगै समस्या पनि।
ती समस्या त्यस्ता थिए, जुन मैले पहाडमै भोगेर आएकी थिएँ। मधेशभित्र पनि पहाडका जस्तै समस्या रहेछन्। पहाडभित्र पनि गरिब मानिस छन्, मधेशभित्र पनि गरिब मानिस छन्। जो अभावमा छन्। महिला र बालबालिकाको कथा समान पाएँ। मैले त्यो समानतालाई सनेसमा ल्याउने प्रयत्न गरेकी छु।
फेरि पनि दोहोर्याउँछु, संघर्ष गर्नेहरूका लागि भूगोल मात्र फरक होला, दु:ख समान छ।
लेखनसँग तपाईंको साइनो कसरी गाँसियो?
म जन्मे हुर्केको लेखफाँट पर्वतको उत्तरी भेगमा पर्छ।
हामी बासी पत्रिका पढेर हुर्कियौँ। घरमा पत्रिका आउँथे। घरमा बा पनि कविता लेख्नुहुन्थ्यो। हाम्रो घर सबैजना भेला हुने ठाउँ थियो। पढाइ र साहित्यप्रति मोह सानैदेखि जाग्यो। पुस्तक पढ्ने बानीको विकास भयो। विस्तारै आफूसँग पनि कथा छ भन्ने भान भयो। त्यसपछि लेखनतर्फ आकर्षित भएँ।
बा आमालाई लेखेर देखाउँदा उहाँहरू एकदम खुसी हुने। भर्खर एफएम खुलेका थिए। कविता पढेर सुनाउँथे। सबैले हौसला दिन्थे। त्यसरी लेखन यात्राको सुरुवात भयो।
सुरु सुरुमा गजल पनि खुब लेख्नुभयो है?
लेखेँ। तर सुरुवात कविताबाट भएको हो। कविता लेख्थेँ सानोमा। बाले बनाइदिनुहुन्थ्यो।
एक ठाउँमा कविता प्रतियोगितामा भाग लिन गएको थिएँ। दोस्रो भएँ। पुस्तक पाएँ। गजल कसरी लेख्ने भन्ने किताब पढेपछि त आकर्षित भइहालेँ। विसं २०६२ मा गजलसंग्रह प्रकाशित पनि भयो।
तपाईं पहाडको हावापानीमा हुर्कनुभयो। जब विवाह गरेर मधेश झर्नुभयो। त्यहाँको जीवनशैली कस्तो लाग्यो?
विवाह ०६५ मा भएपनि म ०७१ देखि रौतहट बस्न थालेँ। पेसाले शिक्षक भएको कारण म सुरुवातमा बालबालिकासँग नजिकिएँ। बालबालिकाको माध्यममार्फत उनीहरूको परिवार , समुदाय , धर्म , संस्कार आदिसँग नजिकिन पाएँ।
मैले अध्यापन गर्ने विद्यालयमा मधेशी , थारु , मुस्लिम , मुसहर , डोम आदि समुदायका बालबालिका छन जसले गर्दा मैले एउटै थालीमा भिन्न स्वादका परिकार पस्किएझैँ संस्कार संस्कृति सँग नजिकिएँ।
भाषा मेरो लागि चुनौति थियो। स्थानीय भाषा नबुझ्दा अनेक किस्सा थपिएका छन। ती किस्साहरूले त्यतिबेला मलाई छिटो भाषा सिक्न सघाए। जब भाषामा अभ्यस्त भएँ तब अझ बढी आत्मियता थपिदैँ गयो। समाजलाई , संस्कारलाई बुझेसँगै जिम्मेवारीबोध पनि भयो।
तपाईंलाई पछि यो समुदाको कथा भन्नुपर्छ भन्ने उत्तरदायित्व अनुभूत भएको हो?
म जन्मे हुर्केको लेखफाँट पर्वतको उत्तरी भेगमा पर्छ। भुगोलका कारण पनि अनेक असुबिधाहरू थिए, छन्। सानैदेखि दु:ख अभाव देखियो। भोगियो। संघर्ष गरियो।
ब्याट्रीको गह्रौँ भारी बोकेर तीन घण्टासम्म नाके उकालो हिँडदा थाप्लो र पिठिउँमा भएको पीड सोलारको उज्यालोले घर झलमल हुँदा हराएथ्यो। त्यतिबेला हामीलाई यो दु:ख हो, संघर्ष हो भन्ने लागेन। यो त काम हो भन्ने लाग्यो।
म करिब ९ वर्ष म्याग्दीको सदरमुकाम बेनी बसेँ। बेनी र लेखफाँट पैदल तीन घण्टाको दुरीमा छ तर कति फरक छ मानिसहरूको जीवनशैली! बेनी आएपछि मात्र प्रस्टसँग मैले सुखदु:खको, अभाव संघर्षको, सुविधाको भिन्नता थाहा पाएँ।
त्यो सुखद् ९ वर्ष बिताएर जब रौतहट आएँ, मलाई समयको उल्टो यात्रा गरेजस्तो अनुभूत भयो।
त्यहाँ जे जे घटना हुन्थ्यो, मैले देखेका बालबालिकाले त्यही कुरा भोगिरहेका हुन्थे। मेरा कथाहरू यो समयमा टेकेर विगततिर फर्किएका छन्।
राजधानी बाहिर बसेर साहित्य कर्म गरिरहेका लेखकलाई कति अफ्ठ्यारो छ? तपाईंको अनुभवले के भन्छ?
पहिलेजस्तो मोफसल र केन्द्र अहिले छैन। केही हदसम्म पुरानो संरचना भत्किसकेका छन्। तर भौतिक रुपमा नभए पनि सोचमा त्यो मान्यता देखिन्छ। राजधानीबाहिरका लेखक कतिपय अवसरबाट वन्चित छन्।
काठमाडौमै लेखक छ भने, ऊ विभिन्न कार्यक्रममा जान्छ। सम्पादकहरूसँग नजिक हुन्छ। भेट्छ। उठबस हुन्छ। टाढा बसेको चिन्दै नचिनेको मान्छेलाई त कसले विश्वास गर्छ र?
कतिपय बेला मूलधारका पत्रिकामा लेख पठाउँदा सम्पादकहरूले सम्पादनकै क्रममा छ भनेर टार्नुहुन्थ्यो। तर कमजोर लेख भने प्रकाशित भइरहेका देखिन्थे।
यदि सम्पादकसँग मेरो पनि भेटघाट र चिनजान भएको भए छापिन्थे कि!
आजकलचाहिँ एउटा मात्र विकल्प छैन। छाप्नका लागि गाह्रो छैन। पहिलाको जस्तो मोफसल छैन। तर अलिअलि मोफसलको धारणाले हामीलाई अफ्ठ्यारोचाहिँ छ।
पुस्तको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
मिश्रित पाइरहेको छु। यी प्रतिक्रियाले फेरि लेख्न हौस्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।