काठमाडौं– चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन्। भारतीय प्रधानमन्त्री मोदी बिहिबार बिहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
मोदी चार्टर फ्लाइटमार्फत आउन लागेको हुन्। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ।
बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।
उता विदेशी राष्ट्रप्रमुखहरुको सुरक्षालाई लिएर काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइए पनि भारतीय प्रधानमन्त्री मोदीको सुरक्षार्थ भने भारतीय विशेष तालिमप्राप्त सैन्य दस्ता सहभागी हुने भएका छन्।
कति संख्यामा सुरक्षा फौज नेपाल आउने नखुलाइए पनि प्रधानमन्त्री मोदीमाथिको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै विशेष तालिम प्राप्त सैन्य दस्ता नेपाल आउन लागेको स्रोत बताउँछ। मोदीको भ्रमणलाई लिएर भारतबाट ३ वटा बुलेट प्रुफ गाडी यसअघि नै नेपाल ल्याइसकिएको छ।
यस अघि गत बैसाखमा मोदी नेपाल आउँदा पनि उनको सुरक्षाको लागि भारतीय सैनिक नै खटिएका थिए।
सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएको नेपालले विशिष्ट विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि ४ तहको घेरा बनाएको छ। तर, अन्य राष्ट्रप्रमुखहरुलाई नेपाली सुरक्षा अंगले नै सुरक्षा दिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको हकमा भने त्यस्तो लागु नहुनुले नेपालको सुरक्षा प्रणालीमा भारत विश्वस्त नहुनु तथा भारतले नेपाललाई हेर्ने प्रवृत्तिसमेत प्रकाशमा आएको चर्चा हुन थालेको छ।
यसअघिको भ्रमणमा पनि मोदीको सुरक्षार्थ ४५ जना भारतीय विशेष सुरक्षा फौज खटिएकोमा व्यापक आलोचना भएको थियो।
नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सैनिकलाई सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मा नदिँदा सैनिकहरुको मनोबल घट्न सक्ने सुरक्षाविद्हरु बताउँछन्।
पशुपतिमा ओली र मोदीले धर्मशालाको उद्घाटन गर्ने
बिम्स्टेक सम्मेलनमा सहभागी हुन मोदी बिहीबार बिहान नेपाल आउने कार्यक्रम रहेको छ। बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएपनि मोदीको नेपाल बसाइका अवसरमा नेपाल सरकार र भारत सरकार बीच सहयोगका दुई क्षेत्रमा सहमति हुने कार्यतालिका छ।
यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले पशुपतिस्थित भारतीय लगानीमा निर्माणाधीन धर्मशालाको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल सरकारले बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी पाहुनाको सम्मानमा आयोजना गर्ने ‘रिट्रिट’अघि धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
मोदीको पहिलो नेपाल भ्रमणको अवसरमा पशुपतिनाथ क्षेत्रमा भारतीय लगानीमा धर्मशाला निर्माण गर्ने बताएका थिए। पहिलो पटक २०७१ सालमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।