काठमाडौं– नेपालको कूल सार्वजनिक ऋण २१ खर्ब नाघेको छ। अर्थमन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८०को साउन महिनादेखि वैशाख मसान्त (१०महिना) सम्मको तथ्यांकमा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
कार्यालयको तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ। बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ रहेको छ। चालू आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात् असार २०७९ मा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।
वैशाख मसान्तसम्म सरकारले २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। यसै अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ। यस अनुसार १० महिनामा खुद सार्वजनिक ऋण भने १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँले वृद्धि भएको छ।

आन्तरिक ऋण डेढ खर्ब, बाह्य ७० अर्ब
कार्यालयको तथ्यांक अनुसार नेपालले १० महिनाको अवधिमा आन्तरिक ऋण १ खर्ब ५९ अर्ब ५० करोड रुपैयाँ लिएको छ। सोही अवधिमा बाह्य ऋण भने मात्र ७० अर्ब ७४ करोड रुपैयाँ प्राप्त भएको छ।
नेपालले एक वर्षको अवधिमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो। यस्तै चालू आर्थिक वर्षभित्र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ।
वैशाखमा मात्रै साढे ४७ अर्ब आन्तरिक ऋण
चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै वैशाखमा मात्रै ४७ अर्ब ५०करोड आन्तरिक ऋण लिएको छ भने ३६ करोड ८० लाख रुपैयाँ आन्तरिक ऋण लिएको छ। यस्तै सबैभन्दा बढी आन्तरिक ऋण माघ महिनामा २८ अर्ब रुपैयाँ लिएको छ भने सोही महिनामा बाह्य ऋण १३ अर्ब १० करोड ६० लाख रुपैयाँ लिइएको छ।
यस्तै सबैभन्दा बढी बाह्य ऋण असोज महिनामा १८ अर्ब ३१ करोड १८ लाख रुपैयाँ लिइएको कार्यालयको तथ्यांकले देखाउँछ। सोहट्ठ महिनामा आन्तरिक ऋण शून्य थियो।
साँवा–ब्याज भुक्तानीमै डेढ खर्ब खर्च
ऋणको भुक्तानीमासमेत नेपालले झण्डै डेढ खर्ब खर्च गरेको पाइएको छ। सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा मात्र १० महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको हो।
तथ्यांक अनुसार १० महिनामा नेपालले ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ। यसमध्ये आन्तरिक ऋणको सावाँ भुक्तानीमा ६३ अर्ब ४७ करोड र बाह्य ऋण भुक्तानीमा २५ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ। ब्याज भुक्तानीमासमेत नेपालको ठूलो रकम खर्च हुने भएको छ।
१० महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा मात्र ४६ अर्ब ८५ करोड रुपैयाँ र कमिसन भुक्तानीमा १० करोड रुपैयाँ खर्च भएको छ। बाह्य ऋणको ब्याज भुक्तानीमा ७ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।